काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)का सांसद सूर्यबहादुर थापाले राजश्व चुहावट हुँदा लक्ष्यअनुसार उठ्न नसकेको बताएका छन् । भन्सारमा ठूलो परिमाणमा राजश्व चुहावट भइरहेको उनले बताएका हुन् ।
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा सांसद थापाले भन्सारमा सुरक्षा प्रणालीले एकीकृत रूपमा काम गर्न नसक्दा समस्या उत्पन्न भएको बताए ।
'एउटा भन्सार कार्यालयमा जाँदा ३० प्रतिशत राजश्व उठ्छ, बाँकी ७० प्रतिशत चुहावट भएको हो भन्ने कुरा आयो,' उनले संसदीय समितिमा भने, 'दैनिक उपभोग्य वस्तुको राजश्व व्यवहारिक देखिएन । चीनीमा लगाएको ४० प्रतिशत राजश्व कालोबजारी गर भनेको देखियो । यो भन्सार बिन्दुबाट आएको देखिएन । यो गुन्टा र कुटुरामा आएको देखियो ।'
भन्सारमा सबैभन्दा बेहाल क्वारेन्टाइनको रहेको पाइएको पनि सांसद थापाले बताए । 'भन्सारमा बेहाल क्वारेन्टाइनको छ । पशुहरूको क्वारेन्टाइन गरिएको छैन । भन्सार बिन्दुबाट भन्दा बाहिरबाट आएको देखियो ।'
भन्सारमा राखिएको 'सन्दर्भ पुस्तक' सान्दर्भिक नदेखिएको पनि सांसद थापाको भनाइ थियो । त्यसको छुट्टै अध्ययन गर्नुपर्ने र व्यवहारिक बनाउनुपर्ने उनको भनाइ थियो । भारतसँगको सिमाना सुरक्षित नरहेको पनि सांसद थापाले बताए ।
भन्सार एजेन्टबाट पनि बदमासी भएको सांसद थापाले बताए । उनले भन्सार बिन्दुबाट नै कारोबार हुनु राम्रो रहेको बताए ।
