पोखरामा अवैध रुपमा काटिएका बर–पीपलका काठ जफत

माघ २३, २०८१

दीपक परियार

Illegally cut Bar Peepal wood seized in Pokhara

पोखरा — पोखराका बर, पीपल तथा समीका रुखहरु अवैध रुपमा काटेर जम्मा गरिएको काठ पोखरा महानगरपालिकाले बुधबार जफत गरेको छ । मानव सेवा फाउन्डेशनले अवैध रुपमा रुख काटेर लेकसाइडस्थित नेपाल ट्रस्टको जग्गामा थुपारेका काठ महानगर प्रहरीले जफत गरेको हो ।

वैशाख १७ देखि जेठ २६ सम्म लेकसाइडमा हुने भनिएको कोटिहोमका लागि फाउन्डेशनले स्थानीय टोल विकास संस्थाको मात्रै अनुमतिमा रुख काटेर जम्मा गरेको थियो । फाउन्डेशनले पोखराका विभिन्न वडाबाट काठ संकलन गरेको थियो । 

बर, पीपल, समी र चौतारो संरक्षण ऐन, २०७५ ले चौतारो संरक्षणको दायित्व, काटछाँटका लागि पूरा गर्नुपर्ने प्रक्रियाको जिम्मा स्थानीय तहलाई दिएको छ । सार्वजनिक स्थानको जोखिमयुक्त रुख हटाउने प्रबन्ध वन ऐन र नियमावलीमा पनि छ । 

ऐनको दफा ७ मा बर, पीपल, समी र चौतारो काट्नु, मास्नु वा हटाउनुपूर्व अध्ययन तथा सिफारिस समितिको सिफारिसका आधारमा मात्रै गर्नुपर्ने प्रावधान छ । स्थानीय तहको प्रमुख वा अध्यक्ष वा निजले तोकेको वडाध्यक्ष संयोजक रहने समितिमा डिभिजनल वन अधिकृत वा प्रतिनिधि, सम्बन्धित वडाका वडाध्यक्ष वा सदस्य, सम्बन्धित आयोजनाको प्रमुख सदस्य र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने व्यवस्था ऐनमा छ ।

Illegally cut Bar Peepal wood seized in Pokhara

तर, मानव सेवा फाउन्डेशनले स्थानीय टोल विकास संस्थासँगको मौखिक सहमतिमा माघ ५ देखि रुख काट्न सुरु गरेको थियो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कोटिहोमका लागि हालसम्म कसैले अनुमति नलिएको बताएका छन् । 

उनले पर्यटकीय नगरीको बीचमा डेढ–दुई महिनासम्म चल्ने कोटिहोमका लागि महानगरले अनुमति दिन नसक्ने बताए । फाउन्डेशनले भने पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयबाट अनुमति लिएको बताएको छ ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully