संघीयताले विकास बजेट माग्न नेताका दैलो धाउनुपर्ने अवस्था अन्त्य भयो : पुन 

माघ २३, २०८१

कान्तिपुर संवाददाता

Federalism has ended the situation of having to go to the door of leaders to ask for a development budget: again

डडेल्धुरा — प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले संघीय व्यवस्था कार्यान्वयनमा आएपछि विकास बजेटका लागि काठमाडौंमा नेताका दैलो धाउनुपर्ने अवस्थाको अन्त्य भएको बताएका छन् । उनले संघीयताको लाभ मुलुकका दुर्गम क्षेत्रहरूले लिइरहेको पनि बताए । 

डडेलधुरामा आयोजित कार्यक्रममा पुनले संघीयताले काठमाडौं केन्द्रित साधन र स्रोत गाउँगाउँमा विकेन्द्रित भएको बताए । संघीय संरचनाकै कारण गाउँगाउँका नागरिकको राज्यमा पहुँच वृद्धि भएको र त्यसैलाई आफूहरूले ‘गाउँको सिंहदरबार’ नाम दिएको पनि उनको भनाइ थियो ।

‘देश संघीय संरचनामा गएपछि बजेट माग्न सिंहदरबार जानुपर्ने अवस्था छैन । नेपालको सबैभन्दा कम बजेट जाने हुम्लाको एउटा गाउँपालिकामा न्यूनतम ७ करोड जाँदो रहेछ । त्यतसपहिले जिल्लाका लागि ५ करोड माग्न ५ लाख खर्च गरेर काठमाडौं जाने प्रतिनिधिहरू अहिले एउटा गाउँका लागि आफैं प्राथमिकता निर्धारण गरेर कम्तीमा ७ करोड खर्च गर्ने अवस्थामा हुनुहुन्छ,’ उनले भने ।

मुलुकमा संघीय व्यवस्था कार्यान्वयन हुनुपहिले भने बजेटका लागि काठमाडौंमा नेताका दैलो धाउनुपर्ने अवस्था रहेको तर अहिले प्रदेश सरकारले धनगढीमै बसेर सुदूरपश्चिमका लागि अर्बौंको बजेट विनियोजन गर्नसक्ने अवस्था बनेको पुनले बताए । उनले बजेटमा स्थानीय र प्रदेशको अधिकार हुनु संघीयताको उपलब्धि रहेको बताए । ‘काठमाडौं देशको राजधानी हो । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार काठमाडौंमै छ, राजनीतिको पनि केन्द्र हो,' उनले भने, ‘तर, विगतमा जस्तो त्यहाँ बस्ने नेता वा प्रशासकको खटनपटनमा मात्र मुलुक चल्न छाडेको छ । काठमाडौं बस्नेले सिंगो देशको आवश्यकता र प्राथमिकताको निर्धारण गर्न सक्दैन भनेर नै हामी संघीयतामा गयौं । अहिले स्थानीय सरकारहरुले आफ्नो प्राथमिकतामा विकासका योजना छनोट गरिरहेका छन् ।’

त्यस्तै, संघीय संसद्ले संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गर्न नसक्दा पनि समस्या आएको पुनको भनाइ थियो । कानुनको अभावमा प्रशासनिक र राजनीतिक अधिकार नपाउँदा प्रदेश संरचना चाहेजति कामकाजी बन्न नसकेको उनले बताए । 

कान्तिपुर

Link copied successfully