बागमती र मधेश इञ्चार्ज फेरिए
काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव जनार्दन शर्माबीच ‘भद्र सहमति’ भएको छ । त्यही सहमतिअनुसार दाहालले शर्मालाई संगठन विभागको महत्त्वपूर्ण जिम्मेवारी दिन लागेका हुन् ।
पार्टी लोकतन्त्रीकरण र नेतृत्व हस्तान्तरणको प्रश्न उठाएपछि दुई नेताबीच दूरी बढेको थियो । कुनै पनि पार्टीमा संगठन विभाग महत्वपूर्ण जिम्मेवारी मानिन्छ । शर्मालाई संगठन विभागको जिम्मेवारी दिने ‘भद्र सहमति’ भएपछि अन्तरसंघर्षमा विराम लागेको छ ।
सोमबार बसेको पदाधिकारी बैठकमा अध्यक्ष दाहालले संगठन विभाग प्रमुखमा शर्मालाई प्रस्ताव गरेको एक पदाधिकारीले जानकारी दिए । त्यस्तै अर्का उपमहासचिव वर्षमान पुनलाई उनले अर्थ सम्बद्ध विभाग प्रमुखमा प्रस्ताव गरेका छन् । सोमबार केन्द्रीय पदाधिकारी बैठकमा उनले शर्मा र पुनलाई उक्त जिम्मेवारी तोक्ने प्रस्ताव गरेका थिए । पूर्वअर्थमन्त्री पुनलाई समग्र अर्थविभाग हेर्ने गरी प्रमुखको जिम्मेवारी दिइएको छ ।
‘जनार्दनजीलाई संगठन र वर्षमानजीलाई अर्थ विभाग प्रमुखको प्रस्ताव भएको छ,’ एक पदाधिकारीले भने, ‘त्यहीअनुसार सबै कमिटीमा सर्कुलर पठाउने तयारी छ ।’ पुस तेस्रो साता भएको केन्द्रीय समिति बैठकअघि नै दाहाल र शर्माबीच जिम्मेवारी दिनेबारे समझदारी भएको उनको भनाइ छ ।
महासचिव देव गुरुङले पदाधिकारी बैठकको निर्णयअनुसार नेताहरूको कार्यविभाजन भएको बताए । ‘सबैलाई पुग्ने गरी कार्यविभाजन भएको छ,’ उनले भने, ‘पार्टीलाई पुनःनिर्माण गर्न व्यवस्थित कार्यविभाजन भएको छ ।’
२०७८ पुसमा भएको आठौं महाधिवेशनमा शर्मा र पुन महासचिवका आकांक्षी थिए । दाहालका विश्वासपात्र शर्मा र पुन दुवैले महासचिवमा दाबी गरेपछि दाहालले देव गुरुङलाई महासचिव चयन गरेका थिए । त्यसपछि असन्तुष्ट बनेका शर्माले पार्टीको आन्तरिक लोकतन्त्र र नेतृत्व हस्तान्तरणको प्रश्न उठाउँदै आएका छन् ।
२०८१ साउनमा शर्माले पार्टीमा आन्तरिक लोकतन्त्रीकरण, पार्टी निर्माण र नेतृत्व हस्तान्तरण, विशेष महाधिवेशन गर्नुपर्ने, कार्यशैली सुधार गर्नुपर्ने लिखित मत स्थायी समितिमा राखेपछि दाहाल र शर्माबीच दूरी बढेको थियो । त्यतिबेला बसेको स्थायी समितिले उनीलगायत अन्य नेताले राखेको मतलाई सातै प्रदेशमा छलफलमा लिएर गएको थियो ।
गत केन्द्रीय समितिमा अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनले शर्माले उठाएका धेरै विषय समेटेको भन्दै अन्तरसंघर्ष स्थगित गरिएको थियो ।
गत साता अखिल क्रान्तिकारीको निर्वाचनमा शर्माले संस्थापनविरुद्ध छुट्टै प्यानल उठाएका थिए । नेतृत्व चयनका लागि भएको प्रत्यक्ष निर्वाचनमा अध्यक्षबाहेक पदाधिकारीमा बहुमत पदमा उनी पक्षका उम्मेदवारले जितेका थिए । ‘पार्टीभित्र शक्ति सन्तुलन मिलाउन जनार्दनलाई संगठन विभागको जिम्मा दिने तयारी देखिन्छ,’ अर्का एक पदाधिकारीले भने ।
शर्मा २०७९ मंसिरअघि पनि संगठन विभाग प्रमुख थिए । २०८० फागुनमा भएको विधान सम्मेलनमा फरक धारणा राखेपछि उनी खास जिम्मेवारीमा थिएनन् । दाहाल र शर्माबीच लामो संघर्ष र छलफलपछि उनलाई पुनः संगठन विभागको जिम्मेवारी दिन लागिएको हो । शर्मा केही समय वाग्मती प्रदेशको इञ्चार्ज भएका थिए । दाहाल र शर्माबीच अन्तरसंघर्ष चर्किएपछि उनलाई उक्त जिम्मेवारीबाट पनि मुक्त गरिएको थियो ।
पूर्वउपराष्ट्रपति पुनलाई कृषि उत्पादनको जिम्मा
माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई आर्थिक तथा कृषि उत्पादन विभागको जिम्मा दिएसँगै उनी सक्रिय राजनीतिमा फर्किएका छन् ।
माओवादीको गत केन्द्रीय समितिले उत्पादनमा जोड दिने निर्णय भएअनुसार पुनलाई पदाधिकारी बैठकले उत्पादनको जिम्मेवारी दिएको हो । उनी अब पूर्वउपराष्ट्रपतिको गरिमालाई बिर्सेर नेताको रूपमा माओवादीमा सक्रिय हुने बाटो खुलेको छ ।
पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पुनलाई उत्पादन विभागको जिम्मा दिएको निर्णय सुनाएका थिए । पुनलाई उपाध्यक्षमा मनोनयन गर्ने तयारी भए पनि हाल उत्पादन विभागको जिम्मेवारीमा ल्याइएको हो । उनी पदाधिकारी बैठकमा आमन्त्रित सदस्यका रूपमा सहभागी हुँदै आएका छन् ।
योसँगै उनी जिम्मेवारीसहित सक्रिय राजनीतिमा आएका हुन् । माओवादीभित्र पूर्वउपराष्ट्रपति पार्टी राजनीतिमा आउनेबारे विवाद भए पनि पदाधिकारी बैठकले उनलाई उत्पादन विभागको जिम्मेवारी दिएको हो ।
उपमहासचिव हरिबोल गजुरेलले पूर्वउपराष्ट्रपतिलाई आर्थिक तथा उत्पादनको जिम्मेवारी दिने निर्णय भएको जानकारी दिए ।
नेताहरूबाटै प्रश्न उठेपछि पूर्वउपराष्ट्रपति पुनलाई उपाध्यक्ष बनाउने तयारी रोकिएको थियो । पदाधिकारी, स्थायी समिति र केन्द्रीय समिति बैठकमा सहभागी हुन थालेका पुनलाई उपाध्यक्षमा मनोनयन गर्ने तयारीमा अध्यक्ष पुष्पकमल दाहाल छन् ।
‘सघीय लोकतान्त्रिक गणतन्त्रका लागि अझै काम गर्न सक्छु । त्यसैले म पार्टी राजनीतिमा आउने निर्णय गरेको हुँ,’ पुनले केही दिनअघि ईकान्तिपुरसँगको कुराकानीमा भनेका थिए, ‘संविधान, कानुनले पुनः राजनीतिमा आउन छेकेको छैन ।’
गत स्थायी समिति बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत नेताहरूले सम्मानित पदमा पुगेको व्यक्ति सक्रिय राजनीतिमा आउनु गलत हुने बताएका थिए ।
सशस्त्र द्वन्द्वका बेला अध्यक्ष दाहाल सुप्रिम कमान्डर, नन्दबहादुर पुन, वर्षमान पुन, जनार्दन शर्मा र चक्रपाणी खनाल माओवादी लडाकुको डेपुटी कमान्डर थिए । उनी २०७२ कात्तिकदेखि २०७९ चैतसम्म उपराष्ट्रपति थिए । २०७९ चैतमा रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै पुनको पदावधि सकिएको थियो । त्यसयता डेढ वर्ष उनी कुनै राजनीतिक कार्यक्रम सहभागी भएका थिएनन् ।
वि.सं. २०२२ कात्तिक ७ गते रोल्पाको राङ्सीमा जन्मिएका नन्दबहादुर पुन ०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. ४ बाट प्रतिस्पर्धा गरे पनि कांग्रेसका गगन थापाबाट पराजित भएका थिए ।
बागमती र मधेश इञ्चार्ज फेरिए
माओवादी केन्द्रले मधेश र बागमती प्रदेशको इञ्चार्ज परिवर्तन गरेको छ । मधेश इञ्चार्जमा मात्रिका यादव र बागमतीमा हितमान शाक्यलाई तोकेको छ । केन्द्रीय पदाधिकारी बैठकले मधेश इञ्चार्ज लीलामणि पोखरेललाई केन्द्रीय सम्पर्क र समन्वयको जिम्मा दिएको छ । यसअघि बागमतीको इञ्चार्जमा उपाध्यक्ष एवं अग्निप्रसाद सापकोटा थिए ।
सापकोटाले आफू प्रचार विभागको जिम्मेवारीमा रहेकाले बागमती प्रदेशको जिम्मा अरू नेतालाई दिनु उपयुक्त हुने सुझाव दाहाललाई दिएका थिए । अरू प्रदेशमा भने नेताहरूको जिम्मेवारी पुरानै कायम राखिएको छ ।
माओवादीको मधेश प्रदेशमा मात्रिका पक्ष र उपमहासचिव गिरिराजमणि पोखरेलबीच विवादका कारण समस्या हुँदै आएको थियो । लामो छलफलपछि यादवलाई मधेश इञ्चार्ज बनाएको एक नेताले बताए । यद्यपि पोखरेल पक्ष यसमा असन्तुष्ट रहेको उनको भनाइ छ ।
नेताहरू हरिबोल गजुरेल कोशी, दीनानाथ शर्मा गण्डकी, चक्रपाणि खनाल लुम्बिनी, कालीबहादुर मल्ल कर्णाली, गिरिराजमणि पोखरेल सुदूरपश्चिम, जयपुरी घर्ती विशेष प्रदेश, लक्ष्मण पन्त सार्क प्रवास, राम कार्की यूरोप–अमेरिका र ओम शर्मालाई एसिया इञ्चार्ज तोकिएको छ ।
माओवादीले नेपालको सबभन्दा होचो स्थान झापाको कचनकेवलबाट तराई मधेश अभियान सुरु गर्ने निर्णय पनि गरेको छ । फागुन १२ मा हुलाकी राजमार्ग केन्द्रित राजनीतिक अभियान महाकाली पुगेर टुंगिने उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
त्यस्तै माओवादीले समाजवादी मोडल निर्माण गर्ने भन्दै आफूले जितेका १ सय २३ पालिकाका प्रमुख र उपप्रमुखलाई प्रशिक्षण दिने भएको छ ।
गत केन्द्रीय समितिले आफूले जितेका पालिकामा समाजवादी मोडल बनाउने निर्णय गरेको थियो । माओवादीले जितेका पालिका प्रमुख र उपप्रमुलाई मुख्य गरी सुशासन, सामाजिक न्याय, छिटोछरितो सेवाका लागि प्रशिक्षण दिने निर्णय गरेको सापकोटाको भनाइ छ । ‘समग्रमा समाजवादी मोडेलतिर जाने कार्यक्रम बनाउने गरी प्रशिक्षण हुनेछ,’ उनले भने ।
