काठमाडौँ — एचपिभी खोप अभियानको शुभारम्भ, साहारा चितवन सहकारी ठगीमा रवि लामिछानेविरुद्ध मुद्दा दायरदेखि अमेरिकी सामानमा चीनले पनि लगायो करसम्मका खबर आज चर्चामा रहे ।
०००
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानको शुभारम्भ गरेका छन् । बालुवाटरस्थित शिवपुरी उच्च माध्यमिक विद्यालयमा आज आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिका–३ स्वस्थ्यकर्मीलाई खोपसामग्री प्रदान गरेर अभियानको शुभारम्भ गरेका हुन् ।
०००
साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगीमा चितवन जिल्ला अदालतमा मंगलबार पूर्वगृहमन्त्री रवि लामिछानेसहित थप १५ जनाविरुद्ध पूरक अभियोग दायर भएको छ । लामिछानेसहित पूर्व डीआईजी छविलाल जोशीलगायत विरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।
०००
नेपाल टेलिकमले मंगलबार आफ्नो २१औँ वार्षिकोत्सवका अवसरमा ‘भीओवाइफाई’ सेवाको व्यावसायिक सञ्चालन सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यो सेवाको औपचारिक उद्घाटन गरेसँगै सेवा सञ्चालनमा आएको हो । भ्वाइस ओभर वाइफाई वा ‘भीओवाईफाई’ मार्फत वाइफाई नेटवर्कबाटै भ्वाइस तथा एसएमएस सेवा प्रयोग गर्न सकिने टेलिकमकी प्रबन्ध निर्देशक संगीत पहाडीले जानकारी दिइन् । उनका अनुसार भोवाईफाई सपोर्ट गर्ने र भोल्टे सेवा सक्रिय भएका जुनसुकै मोबाइल फोनहरूमा यो सेवा उपलब्ध हुनेछ ।
०००
अमेरिकाले सबै चिनियाँ सामानमा कर लागू गरेसँगै चीनले केही अमेरिकी सामानमा प्रतिशोधात्मक करहरू घोषणा गरेको छ । चीनले अमेरिकी कोइला र तरल प्राकृतिक ग्यासमा १५ प्रतिशत आयात कर लगाएको हो । कच्चा तेल, कृषि मेसिनरी, पिकअप ट्रक र केही स्पोर्ट्स कारमा भने १० प्रतिशत कर लगाइएको छ । नयाँ कर आगामी मंगलबार बिहानदेखि सुरू हुने जनाइएको छ ।
०००
नेपालले थाइल्यान्डविरुद्धको खेल जित्ने राम्रो मौका गुमाएको छ । थाइल्यान्डले मंगलबार त्रिकोणात्मक महिला ट्वान्टी-२० क्रिकेट शृंखलामा नेपाललाई ५ रनले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै थाइल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ६ रन बनाएको थियो । जवाफमा आएको नेपालले ८ विकेट गुमाई १ सय १ रनमात्र बनाउन सक्यो ।
