अमेरिकी सामानमा चीनले पनि लगायो कर 

माघ २२, २०८१

एजेन्सी

China also imposed tariffs on American goods

बेइजिङ — अमेरिकाले सबै चिनियाँ सामानमा कर लागू गरेसँगै चीनले केही अमेरिकी सामानमा प्रतिशोधात्मक करहरू घोषणा गरेको छ । चीनले अमेरिकी कोइला र तरल प्राकृतिक ग्यासमा १५ प्रतिशत आयात कर लगाएको हो ।

कच्चा तेल, कृषि मेसिनरी, पिकअप ट्रक र केही स्पोर्ट्स कारमा भने १० प्रतिशत कर लगाइएको छ । नयाँ कर आगामी मंगलबार बिहानदेखि सुरू हुने जनाइएको छ । 

ट्रम्पको कदमपछि चीनले व्यापार युद्धमा कसैले नजित्ने जनाएको थियो । चीनले जवाफी कर लगाउने र विश्व व्यापार संगठनमा मुद्दा दायर गर्ने बताएको थियो । अमेरिकी कदमले दुई देशबीचको सामान्य आर्थिक र व्यापारिक सहकार्यमा क्षति पुग्ने बेइजिङको भनाइ छ । 

अमेरिकाले आफ्नो ’त्रुटिपूर्ण अवधारणा’ सच्याउनुपर्ने र चिनियाँ पक्षसँग 'समानता, आपसी लाभ र आपसी सम्मान’का आधारमा समस्या समाधान गर्नुपर्ने चीनको भनाइ छ ।

यसअघि ट्रम्प प्रशासनले क्यानाडा र मेक्सिकोबाट भित्रने समानहरूमा २५ प्रतिशत कर लगाउने घोषणा गरेको थियो । तर क्यानाडा र मेक्सिकोसँगको वार्तापछि उक्त कर एक महिनाका लागि स्थगित गरिएको ट्रम्प प्रशासनले जनाएको छ । 

एजेन्सी

Link copied successfully