माघ १५ गतेदेखिको यातायात बन्द खुल्यो, बन्दी बिनासर्त रिहाई, २७ गते पुन: वार्ता
ताप्लेजुङ — पाथीभरा क्षेत्रमा निर्माण हुने केबलकारको विषयमा छ बुँदे सहमति भएको छ । सहमतिसँगै गत माघ १५ गतेदेखि भएको यातायात बन्द फिर्ता भएको छ ।
गृह मन्त्रालयद्वारा गठित वार्ता समितिका संयोजक (गृह मन्त्रालयका सहसचिव) प्रेमप्रसाद भट्टराई र आन्दोलनरत समूहद्वारा गठित वार्ता समन्वय समिति संयोजक अम्बर तुम्याहाङ नेतृत्वको समितिले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
यी दुई समितिबीच सोमबार ७ घण्टा र मंगलबार ११ घण्टासम्म वार्ता भएको थियो । मंगलबारको वार्तामा सरकारी पक्षले बन्दीलाई कानुनअनुसार रिहाइ गर्ने प्रस्ताव गरेको थियो भने आन्दोलनरत समूहले बिनासर्त रिहा गर्नुपर्ने प्रस्ताव गरेको थियो । ताप्लेजुङमा पक्राउ परेका आन्दोलनका अगुवा प्रदीप मादेन सहितका तीन जनाको म्याद जिल्ला अदाल बाट थप गरिएको छ । आन्दोलनरत समूह उनीहरुलाई बिनासर्त रिहा गर्न चाहन्थे भने सरकारी टोली अदालती प्रक्रिया पूरा गर्न चाहन्थे ।
आन्दोलनरत समूह निर्माणाधीन अवस्थामा रहेको केबलकार निर्माणको काम रोक्न चाहन्थे भने सरकार काम र वार्ता सँगसँगै गर्न चाहन्थ्यो । अन्तत: स्टेसनको काम लगातार हुने भएको छ भने निर्माण कम्पनीले त्यस माथिको काम मात्रै गर्न नपाउने भएको छ । आन्दोलनका क्रममा पक्राउ परेका ताप्लेजुङ, झापाको दमक र सुनसरीको इनरुवाबाट पक्राउ परेका १८ जना बिनासर्त रिहा हुने भएका छन् । झडपका क्रममा घाइते भएकाहरुको उपचार यसअघिदेखि नै सरकारले गर्दै आएको छ । झडप भएको स्थल पाथीभराको काफ्लेपाटीदेखि सदरमुकाम फुङलिङको जिल्ला अस्पतालसम्म प्रहरीले ल्याएको थियो । त्यहाँबाट रेफर गरिएका उनीहरुलाई विराटनगरको नोबेल अस्पतालसम्म जिल्ला प्रशासन कार्यालयले एम्बुलेन्स र स्वास्थ्यकर्मीको व्यवस्था गरेर पठाइएको थियो भने विराटनगरबाट काठमाडौंसम्म नेपाली सेनाको जहाजबाट पठाइएको थियो । उनीहरु अहिले टिचिङ हस्पिटल काठमाडौंमा रहेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।
योसँगै बसौंदेखिको केबलकार निर्माणको द्वन्द्व व्यवस्थापन प्रक्रिया पनि सुरु भएको छ । आन्दोलनरत समूहले कोशी प्रदेशको अरुण पूर्वका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा र तेहृथुम गरी नौ जिल्लामा यातायात बन्दको आह्वान गरेको थियो । बन्दका क्रममा झापाको दमक र सुनसरीको इटहरीमा झडपसमेत भएको थियो ।
