गौरीशंकर संरक्षित क्षेत्रमा ४ दिनदेखि डढेलो, राङबुसा बस्ती त्रासमा

हेलिकोप्टरबाट भोटेकोशीको पानी ओसारेर खन्याए पनि निभेन आगो

माघ २२, २०८१

अनिश तिवारी, केदार शिवाकोटी

Fire has been raging in Gaurishankar protected area for 4 days, Rangbusa settlement in panic

दोलखा/सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको गौरीशंकर संरक्षण क्षेत्रअन्तर्गतको वनमा लागेको डढेलो चार दिन बित्दा पनि नियन्त्रणमा आउन सकेको छैन । चीनसँग जोडिएको भोटेकोशी–२ लिपिङको माथिल्लो क्षेत्रको वनमा शुक्रबारदेखि डढेलो लागेको हो ।

लिपिङ खोलामा निर्माणाधीन लिपिङ खोला जलविद्युत् आयोजनाको टनेल साइडमा शुक्रबार वेल्डिङ गर्ने क्रममा करेन्ट सर्ट भएर आगो सल्किएको थियो ।

डढेलोले सीमा क्षेत्रको राङबुसा गाउँ जोखिममा परेको छ । राङबुसामा थामी र तामाङ समुदायका २० परिवारको बसोबास छ । सोमबारसम्म अग्निरेखा बनाएर गाउँमा डढेलो पस्न नदिने प्रयास गरिएको सिन्धुपाल्चोक प्रहरीका सूचना अधिकारी डीएसपी उमाशंकर यादवले बताए । ‘राङबुसा गाउँ जोगाउन अग्निरेखा कोरिएको छ, जंगलको मध्य भागमा अझै डढेलो लागिरहेको छ,’ उनले भने । बस्ती पस्न नदिन अग्निरेखा बनाए पनि स्थानीय अझै त्रासमा रहेको राङबुसाकी रिता थामीले बताइन् । 

Fire has been raging in Gaurishankar protected area for 4 days, Rangbusa settlement in panic

आइतबार सिम्रिक एयरको हेलिकोप्टरबाट पानी ओसारेर डढेलो निभाउने प्रयास गरिएको थियो । आठ सय लिटरको दरले ५४ पटक भोटेकोशी नदीको पानी ओसारेर खन्याइए पनि डढेलो ननिभेपछि सोमबार हेलिकोप्टर फर्किएको डीएसपी यादवले बताए । डढेलो निभाउन प्रहरी, सेना र सशस्त्र गरी ३३ जना खटिएको पनि उनले जानकारी दिए । 

भोटेकोशी–२ का वडाध्यक्ष कुमार श्रेष्ठका अनुसार १६ दशमलव २६ मेगावाटको लिपिङ खोला जलविद्युत् आयोजनाले खर्च व्यहोर्ने गरी हेलिकोप्टर गाउँपालिकाले मगाएको हो ।

हेलिकोप्टर प्रयोगमा एक दिनमा इन्धनसहित २० लाख रुपैयाँभन्दा बढी खर्च भएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले स्रोतसाधन अभावले डढेलो निभाउन नसकिएको बताए ।

आगो निभाउनका लागि चीनको न्यालम काउन्टीसँग सहयोग मागेको उनले जानकारी दिए । ‘आयोजनाको खर्चमा हेलिकोप्टरबाट पानी झारेर निभाउने प्रयास गरियो, बस्ती जोगाउन अग्नि रेखा बनेको छ, पूरै आगो निभाउन हामीसँग न बजेट छ, न कुनै स्रोतसाधन,’ उनले भने ।

यस्तै, संरक्षण क्षेत्रभित्रै पर्ने दोलखाको गौरीशंकर गाउँपालिका–७ सिक्पास्वरभन्दा माथिल्लो क्षेत्रको हिमाली वनमा शनिबारदेखि लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन ।

यतिबेला हिउँले सेताम्मे हुने रोल्वालिङ हिमशृंखला डढेलोको धूवाँले ढाकिएको छ । मध्य मंसिरदेखि हिमपात हुने यस क्षेत्रमा माघ तेस्रो साता बित्दासमेत हिमपात भएको छैन । हिमपात हुने मौसममा माथिल्लो भेगका जंगलमा डढेलो विरलै लाग्ने गर्छ । 

तीन वर्षदेखि यो क्षेत्रमा डढेलो लाग्न थालेको गौरीशंकर संरक्षण क्षेत्रका प्रमुख तुलसीप्रसाद दाहालले बताए । ‘यो वर्ष मात्रै २ पटक लागिसकेको छ,’ उनले भने ।

चिसो छल्न तलतिर झरेका रेडपाण्डा र झारलजस्ता वन्यजन्तु डढेलोको मारमा परेको दाहालले बताए । दोलखातर्फ मानवीय असावधानीले डढेलो लागेको हुन सक्ने उनको अनुमान छ ।

Fire has been raging in Gaurishankar protected area for 4 days, Rangbusa settlement in panic

‘त्यस क्षेत्रमा विद्युत् आयोजनाका हाइटेन्सन लाइन पनि छैन, डढेलो लाग्नुको कारणबारे अनुसन्धान गर्न प्रहरीलाई भनेका छौं,’ दाहालले भने, ‘भौगोलिक विकटताका कारण डढेलो निभाउन सकिएको छैन ।’

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

केदार

Link copied successfully