मधेश केन्द्रित दलबीच मोर्चाबन्दीको प्रयास जारी

माघ २२, २०८१

कान्तिपुर संवाददाता

Efforts to block the front between the Madhesh-centric parties continue

काठमाडौँ — मधेश केन्द्रित दलले मोर्चाबन्दीको प्रयास जारी राखेका छन् । मोर्चा निर्माणका लागि दलगत रूपमा प्रतिनिधि तोकिएकाको बैठक सोमबार पनि बसेको छ ।

रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको कार्यालयमा भएको बैठकमा राजनीतिक मुद्दामा सहकार्य गर्ने विषयमा नेताहरूबीच छलफल भएको थियो । 

समान विचार र मुद्दा मिल्ने दलहरूबीच सहकार्य गर्ने उद्देश्यले छलफल चलिरहेको जनता समाजवादी पार्टी नेपालका प्रवक्ता मनीष सुमनले बताए । ‘सबै पार्टी र नेताहरूले सहकार्यको महसुस गरेका छन्, पार्टीगत रूपमा गठित कार्यदलबीच सकारात्मक कुराकानी अघि बढेको छ,’ उनले भने, ‘छलफलले एउटा ठोस रूप लिएपछि शीर्ष नेताहरू बसेर आगामी दिनमा कसरी जाने विषयमा थप निर्णय हुनेछ ।’ जसपा नेपाल, जसपा, जनमत, लोसपा, उन्मुक्ति, राष्ट्रिय मुक्ति मोर्चा, जनता प्रगतिशील र तमलोपा गरी ८ दलबीच पछिल्लो समयमा मोर्चा गरेर जाने छलफल चलिरहेको छ । 

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले साझा मुद्दामा थरूहट आन्दोलनको विषयलाई उठाइनुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, संसद्मा सरकारले ल्याएको विधेयकहरूमाथि समान धारणा बनाउनुपर्ने लगायतका प्रस्ताव बैठकमा गरेका छन् । बैठक सकिएपछि चौधरीले समान मुद्दा भएका राजनीतिक दलहरूबीच मोर्चा बनाउन बैठक बसेको बताए । उनले मधेशी र थारू आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाका लागि आगामी दिनमा कसरी सहकार्य गरेर जाने विषयमा छलफल भएको बताए । आफूहरूले सरकारविरुद्ध मोर्चा बनाउन नखोजेको समेत स्पष्ट पारेका छन् । 

जसपा नेपालका प्रवक्ता सुमनले पनि सरकारको विरोधका लागि मोर्चा बनाउन खोजिएको रूपमा बुझ्न नहुने बताए । ‘मुद्दागत रूपमा सरकारको समर्थन र विरोध रहनेछ,’ उनले भने, ‘सरकारको विरोधमा उभिन खोजेका होइनौं । आवश्यकता अनुसार सरकारलाई सकारात्मक सचेत गराउने हाम्रो प्रयास रहनेछ ।’ 

कान्तिपुर संवाददाता

Link copied successfully