काठमाडौँ — 'नो केबलकार समूह'को समन्वय समिति र सरकारबीच वार्तादेखि यूएसएआईडी पूर्ण रूपमा बन्द गर्ने इलन मस्कको घोषणासम्मका समाचार कान्तिपुरमा प्रकाशित भएका छन् ।
सरकार र पाथीभारामा ‘नो केबलकार समूह’ बीच वार्ता सुरु भएको छ । गृह मन्त्रालयले गठन गरेको वार्ता समिति र आन्दोलनरत समूहले बनाएको वार्ता सहजीकरण समितिबीच ललितपुरको होटल हिमालयमा छलफल सुरु भएको हो ।
सरकारले गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ भने नो केबलकार समूहले अमर तुम्याहाङको संयोजकत्वमा राम मादेन, शंकर लिम्बू र सरु सिंघक सदस्य रहेको वार्ता सहजीकरण समिति बनाएको छ ।
त्यस्तै अमेरिकी 'सरकारी दक्षता विभाग'का निर्देशकसमेत रहेका टेक खर्बपति इलन मस्कले आफू र राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) बन्द गर्न लागेको घोषणा छन् । आफ्नै सामाजिक सञ्जाल एक्समा सोमबार एक अडियो पोस्ट गर्दै मस्कले यूएसएआईडी बन्द गर्ने प्रक्रिया थालिएको बताएका छन् ।
त्यसैगरी राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल खण्ड विस्तारको कामले तीव्रता पाएको छ । नारायणगढ-बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनीयर शिव खनालले अहिले पूर्वीखण्डको विभिन्न १८ स्थानमा कालोपत्र गर्नेगरी काम भइरहेको जानकारी दिए ।
त्यस्तै प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइएको छ । आज बिहान ०७:५५ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ०७ : ५५ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको थियो ।
त्यस्तै राजधानीमा जारी महिला टी–२० शृङ्खलामा थाइल्यान्डले नेदरल्यान्ड्सलाई १७ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा ल थाइल्यान्डले दिएको ८७ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १५ दशमलव ५ ओभरमा ६९ रनमा ‘अल आउट’ भयो ।
