सरकारसँग वार्ताका लागि ‘नो केबलकार समूह’ ले बनायो समन्वय समिति 

माघ २१, २०८१

आनन्द गौतम

The 'No Cable Car Group' formed a coordination committee to negotiate with the government

ताप्लेजुङ — गृह मन्त्रालयले गठन गरेको वार्ता समितिसँग छलफलका लागि ‘नो केबलकार समूह’ ले चार सदस्यीय वार्ता सहजीकरण समिति गठन गरेको छ । अमर तुम्याहाङको संयोजकत्वमा राम मादेन, शंकर लिम्बू र सरु सिंघक सदस्य रहेको समिति गठन गरेको हो । योसँगै गत माघ १२ गतेदेखि सुरु भएको द्वन्द्व व्यवस्थापनका लागि वार्ता प्रक्रिया सुरु हुने भएको छ । 

केबलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बू लिम्बूले यो समितिबाट वार्ताका लागि समन्वयको वातावरण बन्ने वताए । उनले भने, 'संघीय सरकारकै तर्फबाट मात्रै कुरा गर्छौं भन्ने हाम्रो अडान थियो, त्यो सकारात्मक छ । तर सहसचिवको तहबाट निर्णय भएर कार्यान्वय हुन सक्दैन । त्यसैले हामीले पोलिटिकल लेभलको वार्ता समिति बन्नुपर्छ पनि भनेका छौं । त्यो विषयमा छलफल गर्न सहजीकरण समिति बनाइएको हो ।’ 

समूहले वार्तामा बस्नुअघि निर्माण कार्य स्थगित हुनुपर्ने, पक्राउ परेका प्रदीप मादेनसहितका तीन जनालाई रिहा गर्नुपर्ने, निर्माणाधीन क्षेत्रबाट सुरक्षाकर्मी फिर्ता गर्नुपर्ने अडान लिएका छन् । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully