सरकारको ध्यान आजका बालबालिकाहरूलाई ठिक ढंगले हुर्काउनेमा केन्द्रित छ : प्रधानमन्त्री

माघ २१, २०८१

कान्तिपुर संवाददाता

The government's focus is on bringing up today's children properly: Prime Minister

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताएका छन् । काठमाडौँमा आयोजित युवासँग अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको इतिहास गौरवपूर्ण रहेको र अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताएका हुन् ।

उनले केही समय नेपाल पछाडि परेको भए पनि अब प्रविधिको प्रयोग र विकासबाट नेपाल अरू मुलुक भन्दा अगाडि जान सक्ने बताए । उनले नेपालमा सबै खाले विकास गर्नका लागि प्रविधिको पहुँच रहेको र नेपाली युवाहरूले देश विकासका लागि प्रविधिको माध्यमबाट धेरै कुराहरू गर्न सक्ने बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘हिजोको हाम्रो इतिहास गौरवपूर्ण छ । अलिकति समय हामी पछाडि पर्‍यौँ । अब हामी पछाडि पर्नुपर्ने कुनै कारण छैन । सबै टेक्नोलोजी एभाइलेभल छ आज । स्पेस टेक्नोलोजी होस् की, एआई टेक्नोलोजी होस् की, अरू टेक्नोलोजी होस् । सबै अभाइलेभल छ । आज ९/१० मा पढ्ने विद्यार्थीले साइन्सका जुन डेमोहरू गर्दछन्, आश्चर्य लाग्दा डेमोहरू गर्दछन् । ११/१२ मा पढ्ने विद्यार्थीले स्पेस साइन्समा साना साना रकेटहरू छोड्छन् । अन्तरिक्षमा हामी स्याटलाइट पठाउन सक्छौँ भन्छन् । हामी पछाडि पर्नुपर्ने कुनै पनि कारण छैन । हामीले आत्मविश्वास राख्नुपर्दछ । अब हामी पछाडि पर्नु हुँदैन ।'

उनले आत्मविश्वासका साथ काम गर्दा सफलता पाइने भन्दै विद्यार्थीलाई पनि आत्मविश्वास राखेर देश बनाउन सकिन्छ भन्ने भावका साथ अध्ययन गर्न आग्रह गरे । अहिलेको सरकारको ध्यान तीव्र विकासको काममा रहेको उल्लेख गरे । अहिलेको सरकारको ध्यान तीव्र विकास, आजका बालबालिकाहरूलाई ठिक ढंगले हुर्काउने, उनीहरूलाई आजको आधुनिक शिक्षा, वैज्ञानिक शिक्षासँग दक्ष बनाउने भन्नेमा केन्द्रित रहेको बताए । 

उनले भने, 'हामीले आत्मविश्वास राख्नुपर्दछ । म देशको प्रधानमन्त्रीको हैसियतले नानीबाबुहरूलाई भन्न चाहन्छु, मेरो ध्यान, मैले नेतृत्व गरेको सरकारको ध्यान सम्पूर्ण रूपमा आज विकास गर्ने, आज तीव्र विकास गर्ने, आजका बालबालिकाहरूलाई ठिक ढङ्गले हुर्काउने, उनीहरूलाई आजको आधुनिक शिक्षा, वैज्ञानिक शिक्षासँग दक्ष बनाउने, ग्लोबल्ली उनीहरूको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने र हामी अगाडि छौँ, हामीसँग हाम्रा महान् पुर्खाको जेनेटिक मेमोरी छ ।’

प्रधानमन्त्री ओलीले बालबालिकाहरूले हामी गर्न सक्छौँ र अरू भन्दा अगाडि जान सक्छौँ भन्ने सोचेर अध्ययन गर्न जरुरी रहेको बताए । उनले स्वस्थ र निरोगी नेपाल बनाउने कुरामा सरकारको ध्यान रहेको बताए । विद्यार्थीलाई गलत संगतमा नपर्ने आग्रह गरे । 

कान्तिपुर संवाददाता

Link copied successfully