कुमारी सहकारीको रकम हिनामिनामा संलग्न थप ४ जना पक्राउ 

माघ २०, २०८१

नारायण शर्मा

4 more people involved in embezzlement of Kumari Cooperative's funds arrested

पोखरा — म्याग्दीको बेनीमा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको १ अर्ब ४९ करोड रुपैयाँ बचत हिनामिनाको आरोपमा आइतबार थप ४ जना पक्राउ परेका छन् । रकम हिनामिनाका मुख्य आरोपी जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ परेसँगै प्रहरीले उनीहरूलाई पनि नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सपेक्टर सागर पौडेलका अनुसार सहकारीको रकम हिनामिनामा संलग्न मनप्रसाद थकाली, थमबहादुर गर्बुजा, रुद्रबहादुर गुरुङ र देवीकुमारी थापा पक्राउ परेका हुन् । उनीहरुलाई अदालतको आदेश अनुसार आइतबार पक्राउ गरिएको हो । 

४३ सय ८६ बचतकर्ता रहेको यो सहकारीमा ४ सय १८ जना सेयर सदस्य रहेका छन् । पक्राउ परेकाहरु सहकारी रजिस्टारको कार्यालय पोखराले गरेको छानबिनका क्रममा रकम हिनामिनामा संलग्न मुख्य अभियुक्त भएको बताइएको छ ।

एक वर्षअघि सहकारी रजिस्टारको कार्यालय पोखराले वित्तीय विश्लेषक निर्मल गौतमको संयोजकत्वमा सहकारीमा भएको आर्थिक अनियमितताको छानबिन गरेर प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन बुझाएको एक वर्षपछि सहकारी रजिस्टारको कार्यालयको पत्रका आधारमा पाँच जना अभियुक्तलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

छानबिन प्रतिवेदनमा संचालक समितिका सदस्य र व्यवस्थापकको मिलेमतोमा आफ्ना परिवारका नाममा सेयर कायम गरेर सर्वसाधारणको रकम हिनामिनाको तानाबाना बुनेका थिए ।

रकम हिनामिनाका मुख्य डिजाइनर राजकुमार थापाले विभिन्न व्यक्तिका नाममा लिएको रकमबापत सम्पत्ति रोक्कासमेत नगरी लिएका थिए । उनीहरुले बिनाब्याज कर्जा लिएर सहकारीको रकम हिनामिना गरेको खुलेको अनुसन्धानमा खटिएका वित्तीय विश्लेषक गौतमले बताए ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully