कुनै बेलाको विकट जेलबाङ गाउँमा सडक पुगेको छ, बिजुली बल्छ, विद्यालय सुविधायुक्त छ, हरेक घरमा पानीको धारा छ, स्थानीय बासिन्दा विकासका सम्भावनामाथि छलफल गरिरहेको भेटिन्छन्
रोल्पा — दुई दशकअघिको सशस्त्र द्वन्द्वबाट सबैभन्दा बढी प्रभावित गाउँमध्येमा पर्छ जेलबाङ । सशस्त्र द्वन्द्वको आधारस्थल रूपमा जेलबाङको चर्चा हुन्थ्यो । त्यति बेलाको विकट जेलबाङमा जति बस्थे, प्रायः सबै तत्कालीन विद्रोही माओवादीसँग नजिक थिए । माओवादीलाई साथ दिन नसक्नेहरू विस्थापित थिए । कालान्तरमा सशस्त्र द्वन्द्व अन्त्य भयो अनि जेलबाङको मुहार पनि बदलिन सुरु भयो ।
अग्ला डाँडाबीचमा खामभाषी मगर समुदायको बाक्लो घर रहेको जेलबाङ गाउँमा सडक पुगेको छ, बिजुली बल्छ । हरेक घर अगाडि पानीको धारा छ । सात समुद्र पारि रहेका परिवारजनसँग घरैबाट भिडियोमा कुराकानी हुन्छ । विद्यालय भवन नयाँ बनेको छ । सुविधायुक्त आधुनिक विद्यालय भवन बनेपछि शैक्षिक अवस्थामा निकै सुधार आएको स्थानीय बताउँछन् । स्थानीय बासिन्दा विकासका अन्य सम्भावनामाथि छलफल गरिरहेको भेटिन्छन् ।
जेलबाङको जनसंख्या २ हजार ८ सय ५४ छ । यहाँ ५ सय १९ घरधुरी छन् । सशस्त्र द्वन्द्वका बेला यहाँ ४ सय ७२ घरधुरी मात्रै थिए । पछिल्लो समय विकास भित्रिन थालेपछि घरधुरी संख्या बढेको छ । जेलबाङमा बसोबास गर्नेमध्ये जनजाति ९९ प्रतिशत छन्, अरू दलित छन् ।
तीन दशकअघि मुलुकमा सशस्त्र द्वन्द्वको आगो सल्कँदै गर्दा जेलबाङमा प्रायः सबै गाउँले राजनीतिबाट प्रत्यक्ष प्रभावित भएका थिए । माओवादी र गैरमाओवादीबीचमा नै विवाद निम्तिएको थियो । आफन्तबीच नै ज्यान लिने क्रम सुरु भयो । सशस्त्र द्वन्द्वको चेपुवामा परेर जेलबाङका ७३ जनाले ज्यान गुमाए । माओवादी पक्षबाट ११ र माओवादीमा लागेको आरोपमा राज्यबाट ६२ जनाको ज्यान लिइएको थियो । ‘व्यवस्था बदलेर गरिबको सत्ता ल्याउने माओवादीको सपनामा विश्वास गरेर सर्वसाधारणदेखि पार्टीका कार्यकर्ताले बलिदानी दिए,’ जेलबाङ गाउँका अगुवा कम्युनिस्टमध्येका एक पूर्वशिक्षक चन्द्रबहादुर बुढामगरले भने ।
शान्ति प्रक्रिया सुरु भएपछि जेलबाङलाई ‘शान्ति गाउँ’ बनाउन तत्कालीन शान्ति मन्त्रालयले द्वन्द्वोत्तर शान्ति तथा पुनर्निर्माण परियोजनाअन्तर्गत जेलबाङमा बजेट विनियोजन सुरु गरेको थियो । पहिलो चरणमा सरकारले सडकमा मात्र ३ करोड १४ लाख बजेट विनियोजन गरेको थियो । पूर्वको सुलीचौरबाट जेलबाङ १८ किलोमिटर उत्तरमा पर्छ । यहींबाट सडक जोडिएको छ । सडकको नाम ‘बलिदान मार्ग’ राखिएको छ ।
जेलबाङ निवासी सुनछहरी गाउँपालिकाका पूर्वअध्यक्ष आशबहादुर पुन सडकले जेलबाङमा विकासको ढोका खोलेको बताउँछन् । गाउँमा स्थानीय री खोलाबाट विद्युत् निकालिएको छ । २ करोड ५७ लाख ८१ हजारको लगानी बनाइएको आयोजनाबाट ९ किलोवाट विद्युत् उत्पादन गर्छ, जसले गाउँ झलमल्ल पारेको छ ।
माओवादीका नेता–कार्यकर्ता जेलबाङको मुहार फेरिनुको जस सशस्त्र द्वन्द्वलाई दिन्छन् । माओवादीमा लागेको आरोपमा दुई छोरी गुमाएकी जेलबाङकी बना पुन भन्छिन्, ‘अहिलेको विकास र परिवर्तन सहिदको त्यागबाट प्राप्त भएको हो । सशस्त्र द्वन्द्वमा जानीनजानी मेरा दुई छोरीले ज्यान गुमाएका थिए । मेरा छोरी जस्ता ठूला मुटु भएका वीरहरूले नेताहरूको चेत खोलिदिएका छन् ।’ तत्कालीन माओवादी लडाकुको डिभिजन कमान्डर रहेका जेलबाङकै सुकबहादुर रोकामगर सशस्त्र द्वन्द्वले नै समाज बदलेको दाबी गर्छन् ।
स्थानीय युवा पर्यटन व्यवसायी बाल्कुराम पुनले फेरिएको जेलबाङ बुझ्न अचेल विद्यार्थी र अध्येता आइरहेको बताए । ‘जेलबाङको ऐतिहासिकता तत्कालीन सशस्त्र द्वन्द्व र बलिदानीसँग गाँसिएको छ । त्यसैले सशस्त्र द्वन्द्वबारे बुझ्न र अध्ययन गर्न मानिस आइरहन्छन्,’ उनले भने । जेलबाङको महत्त्व बढाउन जलजलासमेतलाई जोडेर ‘युद्ध पर्यटन’ को विकासमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
