जेलबाङमा आएको विकास

कुनै बेलाको विकट जेलबाङ गाउँमा सडक पुगेको छ, बिजुली बल्छ, विद्यालय सुविधायुक्त छ, हरेक घरमा पानीको धारा छ, स्थानीय बासिन्दा विकासका सम्भावनामाथि छलफल गरिरहेको भेटिन्छन्

माघ २०, २०८१

काशीराम डाँगी

Developments in Jailbang

रोल्पा — दुई दशकअघिको सशस्त्र द्वन्द्वबाट सबैभन्दा बढी प्रभावित गाउँमध्येमा पर्छ जेलबाङ । सशस्त्र द्वन्द्वको आधारस्थल रूपमा जेलबाङको चर्चा हुन्थ्यो । त्यति बेलाको विकट जेलबाङमा जति बस्थे, प्रायः सबै तत्कालीन विद्रोही माओवादीसँग नजिक थिए । माओवादीलाई साथ दिन नसक्नेहरू विस्थापित थिए । कालान्तरमा सशस्त्र द्वन्द्व अन्त्य भयो अनि जेलबाङको मुहार पनि बदलिन सुरु भयो । 

अग्ला डाँडाबीचमा खामभाषी मगर समुदायको बाक्लो घर रहेको जेलबाङ गाउँमा सडक पुगेको छ, बिजुली बल्छ । हरेक घर अगाडि पानीको धारा छ । सात समुद्र पारि रहेका परिवारजनसँग घरैबाट भिडियोमा कुराकानी हुन्छ । विद्यालय भवन नयाँ बनेको छ । सुविधायुक्त आधुनिक विद्यालय भवन बनेपछि शैक्षिक अवस्थामा निकै सुधार आएको स्थानीय बताउँछन् । स्थानीय बासिन्दा विकासका अन्य सम्भावनामाथि छलफल गरिरहेको भेटिन्छन् । 

जेलबाङको जनसंख्या २ हजार ८ सय ५४ छ । यहाँ ५ सय १९ घरधुरी छन् । सशस्त्र द्वन्द्वका बेला यहाँ ४ सय ७२ घरधुरी मात्रै थिए । पछिल्लो समय विकास भित्रिन थालेपछि घरधुरी संख्या बढेको छ । जेलबाङमा बसोबास गर्नेमध्ये जनजाति ९९ प्रतिशत छन्, अरू दलित छन् । 

तीन दशकअघि मुलुकमा सशस्त्र द्वन्द्वको आगो सल्कँदै गर्दा जेलबाङमा प्रायः सबै गाउँले राजनीतिबाट प्रत्यक्ष प्रभावित भएका थिए । माओवादी र गैरमाओवादीबीचमा नै विवाद निम्तिएको थियो । आफन्तबीच नै ज्यान लिने क्रम सुरु भयो । सशस्त्र द्वन्द्वको चेपुवामा परेर जेलबाङका ७३ जनाले ज्यान गुमाए । माओवादी पक्षबाट ११ र माओवादीमा लागेको आरोपमा राज्यबाट ६२ जनाको ज्यान लिइएको थियो । ‘व्यवस्था बदलेर गरिबको सत्ता ल्याउने माओवादीको सपनामा विश्वास गरेर सर्वसाधारणदेखि पार्टीका कार्यकर्ताले बलिदानी दिए,’ जेलबाङ गाउँका अगुवा कम्युनिस्टमध्येका एक पूर्वशिक्षक चन्द्रबहादुर बुढामगरले भने । 

शान्ति प्रक्रिया सुरु भएपछि जेलबाङलाई ‘शान्ति गाउँ’ बनाउन तत्कालीन शान्ति मन्त्रालयले द्वन्द्वोत्तर शान्ति तथा पुनर्निर्माण परियोजनाअन्तर्गत जेलबाङमा बजेट विनियोजन सुरु गरेको थियो । पहिलो चरणमा सरकारले सडकमा मात्र ३ करोड १४ लाख बजेट विनियोजन गरेको थियो । पूर्वको सुलीचौरबाट जेलबाङ १८ किलोमिटर उत्तरमा पर्छ । यहींबाट सडक जोडिएको छ । सडकको नाम ‘बलिदान मार्ग’ राखिएको छ । 

जेलबाङ निवासी सुनछहरी गाउँपालिकाका पूर्वअध्यक्ष आशबहादुर पुन सडकले जेलबाङमा विकासको ढोका खोलेको बताउँछन् । गाउँमा स्थानीय री खोलाबाट विद्युत् निकालिएको छ । २ करोड ५७ लाख ८१ हजारको लगानी बनाइएको आयोजनाबाट ९ किलोवाट विद्युत् उत्पादन गर्छ, जसले गाउँ झलमल्ल पारेको छ ।

माओवादीका नेता–कार्यकर्ता जेलबाङको मुहार फेरिनुको जस सशस्त्र द्वन्द्वलाई दिन्छन् । माओवादीमा लागेको आरोपमा दुई छोरी गुमाएकी जेलबाङकी बना पुन भन्छिन्, ‘अहिलेको विकास र परिवर्तन सहिदको त्यागबाट प्राप्त भएको हो । सशस्त्र द्वन्द्वमा जानीनजानी मेरा दुई छोरीले ज्यान गुमाएका थिए । मेरा छोरी जस्ता ठूला मुटु भएका वीरहरूले नेताहरूको चेत खोलिदिएका छन् ।’ तत्कालीन माओवादी लडाकुको डिभिजन कमान्डर रहेका जेलबाङकै सुकबहादुर रोकामगर सशस्त्र द्वन्द्वले नै समाज बदलेको दाबी गर्छन् । 

स्थानीय युवा पर्यटन व्यवसायी बाल्कुराम पुनले फेरिएको जेलबाङ बुझ्न अचेल विद्यार्थी र अध्येता आइरहेको बताए । ‘जेलबाङको ऐतिहासिकता तत्कालीन सशस्त्र द्वन्द्व र बलिदानीसँग गाँसिएको छ । त्यसैले सशस्त्र द्वन्द्वबारे बुझ्न र अध्ययन गर्न मानिस आइरहन्छन्,’ उनले भने । जेलबाङको महत्त्व बढाउन जलजलासमेतलाई जोडेर ‘युद्ध पर्यटन’ को विकासमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully