काठमाडौँ — राष्ट्रिय सभाको आइतबारको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस भएको छ । बैठकमा विधयान व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले विधेयकको प्रतिवेदन पेस गरेकी हुन् ।
राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयकमा दफाबार छलफलका लागि समितिमा पठाइएको थियो । उक्त विधेयकमा २९ जना सांसदले ७१ वटा संशोधन प्रस्ताव गरेका थिए ।
सभापति दाहालले विधेयकमा संशोधनसहित विज्ञहरूबाट सुझाव लिइएको र विधेयकको उद्देश्य आँखा स्वास्थ्य सेवामा पहुँच वृद्धि, आँखाका क्षेत्रमा नयाँ प्रविधिको विकास गर्न, गुणस्तरीय सेवा प्रदान गर्ने र सार्वजनिक विश्वविद्यालय सञ्चालन गर्ने रहेको सदनलाई जानकारी गराएकी थिइन् ।
समितिले यही माघ १५ गते सो विधेयक समितिबाट पारित गरेको थियो । राष्ट्रिय सभाको अर्को बैठक यही माघ २४ गते बिहीबार १:१५ बस्नेछ ।
