सांसद साह विरुद्धको मुद्दामा कारण देखाउ आदेश

माघ २०, २०८१

शिव पुरी

Show cause order in case against MP Shah

रौतहट — आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष एवम् रौतहट क्षेत्र नम्बर ३ का संघीय सांसद प्रभु साहविरुद्ध आइतबार जिल्ला अदालत गौरले अवहेलनाको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । सांसद साहले सामाजिक संजाल फेसबुकमा रौतहटका न्यायाधीशलाई नेताका झोले कार्यकर्ता भनेर स्टाटस लेखेका थिए । 

जिल्ला न्यायाधीश शम्भुप्रसाद रेग्मीको इजलासले सांसद साह लगायतका विपक्षीका नाममा कारण देखाउ आदेश गरेको हो । सांसद साहले केही समयअघि फेसबुकमा न्यायाधीशलाई नेताका झोले कार्यकर्ता भनेर स्टाटस पोष्ट गरेपछि अदालतप्रति अपमान भएको भन्दै बौधीमाई नगरपालिकाका नगरप्रमुख प्रदीपकुमार यादवले गत शुक्रबार जिल्ला अदालत रौतहटमा मुद्दा दर्ता गरेका थिए । उक्त मुद्दाको आइतबार सुनवाइ भएको हो । 

सुनवाइपछि न्यायाधीश रेग्मीले निवेदन मागबमोजिम तपाईंलाई किन सजाय हुन नपर्ने हो भनी विपक्षीका नाममा कारण देखाउ आदेश जारी भएको अदालतका श्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिए । वादीका तर्फबाट अधिवक्ता राजाराम रायले बहस गरेका थिए । 

बौधीमाई नगरपालिकामा बाटोको विषयलाई लिएर सांसद साह पक्ष र नगरप्रमुख यादव पक्षबीच लामो समयदेखि विवाद हुँदै आएको छ । सोही घटनामा कुटपिट, अभद्र व्यवहार तथा गालीगलौजको आरोपमा दुई साताअघि स्थानीय गंगाराम बैठालाई अदालतले थुनामा राख्न आदेश दिएको थियो । बैठा साह समर्थक हुन् । त्यसपछि सांसद साह पक्षका मानिसहरु नगरप्रमुख सित आक्रोशित छन् । यही आदेशपछि सांसद साहले न्यायाधीशलाई नेताका झोले कार्यकर्ता भनेर टिप्पणी गरेका हुन् । 

सांसद साहले नगरप्रमुख यादबले बाटो बढाउने निहुँमा सोझासाझा जनताको घर तोडफोड गरेको आरोप लगाउँदै आएका छन् ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully