राष्ट्रिय सहमतिबाट नै संविधान संशोधन गर्छौं : सरकारका प्रवक्ता गुरुङ

माघ २०, २०८१

आश गुरुङ

We will amend the constitution only through national consensus: Government spokesperson Gurung

लमजुङ — सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले २०८२ भित्र संविधान संशोधनको संकेत गरेका छन् ।उनले १० वर्षभित्र संविधान संशोधन गर्न सकिने संवैधानिक व्यवस्था रहेको बताए । 

लमजुङको मर्स्याङ्दी गाउँपालिकाको नवनिर्मित भवनको भुलभुलेमा उद्घाटन गर्दै उनले भने, ‘संविधान कार्यान्वयन गर्दा कहाँ समस्या पर्‍यो, हामी पहिचान गर्छौं । आवश्यक परे संविधान संशोधन हुन्छ ।’

‘हामीले सरकार गठन गर्ने बेला भनेका थियौं । मुलुकको अर्थतन्त्र तंग्रिनको लागि, कुशासन अन्त्यको लागि यो १० वर्षभित्र संविधान कार्यान्वयन गर्दा कहाँ –कहाँ समस्या भयो ? यसबारे पत्ता लगाउन समीक्षा गरौं, किनभने संवैधानिक प्रबन्ध छ १० वर्षभित्र संविधान संशोधन गर्ने ।’

उनले राष्ट्रिय सहमतिले नै संविधान संशोधन गरिने बताए । ‘हामी छलफल गर्छौं, विषय पहिचान गर्छौ, २ वटा पार्टीले पहिचान गरेपछि सत्ताका अरु पार्टीसँग सल्लाह गर्छौं,’ उनले भने, ‘सत्तापक्षबीच एक खालको विषय एजेन्डा तय गरेपछि हामी प्रतिपक्षसँग मिलेर अघि बढ्छौं, एकलौटी हामी केही गर्दैर्नौं ।’ 

संविधान संशोधनमा एकलौटी गर्ने भए सरकारसँग दुइतिहाइ रहेको उनले बताए । ‘राष्ट्रिय सहमतिबिना संविधान संशोधनको काम हामी गर्दैर्नौं । यो कुरा म प्रतिपक्ष साथीहरुलाई भन्न चाहन्छु, संविधान संशोधन सबै मिलेर गरौं ।’

उनले मुलुकको विकास र अग्रगतिका लागि संविधान संशोधन आवश्यक रहेको बताए । ‘संविधान कुनै ढुंगामा लेखिएको अक्षर होइन, त्यो कहिल्यै पनि नमेटिने । संविधान एउटा संशोधनीय दस्तावेज हो । गतिशील दस्तावेज हो । कुनै गतिशील हुन्छ भने त्यसमा समयानुकूल परिवर्तन हुनुपर्छ । समयानुकूल भइराख्नुपर्छ ।’

उनले संविधान सबैभन्दा धेरै संशोधन भएको अमेरिका रहेको बताए । ‘अमेरिकाको संविधान बारम्बार संशोधन भए पनि आजसम्म चलिरहेको छ । त्यसले अमेरिकाको समस्या समाधान गरिरहेको छ । हामी पनि हाम्रो संविधान त्यस्तै बनाउन चाहन्छौं । गतिशील संविधान बनाउन चाहन्छौं, जनताको हित गर्ने संविधान बनाउन चाहन्छौं, मुलुकको समृद्ध गर्ने संविधान बनाउन चाहन्छौं ।’

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully