काठमाडौँ — काठमाडौं उपत्यका लगायत क्षेत्रमा आइतबार अपराह्नदेखि इन्टरनेट सेवा प्रभावित भएको छ । विभिन्न सेवा प्रदायकको इन्टरनेट कनेक्टिभिटीमा समस्या देखिएको हो । फाइबर इन्टरनेटसँगै मोबाइल इन्टरनेट सेवामा पनि समस्या आएको गुनासो प्रयोगकर्ताहरूको छ ।
नेपाल टेलिकम, एनसेल, वर्ल्डलिंक, भायानेट, डिसहोम लगायत फाइबर इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको कनेक्टिभिटीमा इन्टरनेट नचल्ने, ढिलो हुने, बारम्बार 'डिस्कनेक्ट' हुने जस्ता समस्या देखिएको गुनासो प्रयोगकर्ताहरूले गरिरहेका छन् । प्रयोगकर्ताहरूले इन्टरनेट नचलेको गुनासो सामाजिक सञ्जालमार्फत पनि गरिरहेका हुन् ।
नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले नेपालमा अन्तर्राष्ट्रिय ब्यान्डविथ पठाउने भारतीय कम्पनी 'एयरटेल'को लिंकमा आएको समस्याले गर्दा नेपाली सेवा प्रदायकहरूको कनेक्टिभिटीमा असर परेको जानकारी दिए । ‘अहिले इन्टरनेटमा अन्तर्राष्ट्रिय रूपमै समस्या आएको हो कि भन्ने हाम्रो अनुमान छ,’ उनले भने, ‘हाम्रा प्राविधिकहरू समाधानका लागि काम गरिरहेका छन् । थप विवरण आउन बाँकी छ ।’
इन्टरनेट सेवा प्रदायकहरूको छाता संगठन आइस्पानका अध्यक्ष सुधीर पराजुलीले पनि एयरटेल नेटवर्कमा समस्या आइरहेको पुष्टि गरे ।एयरटेल नेपालमा अन्तर्राष्ट्रिय ब्यान्डविथ पठाउने भारतीय कम्पनीमध्ये एक हो ।
नेपालका इन्टनेरनेट सेवा प्रदायकहरूले भारतीय एयरटेल, टाटा लगायत अपस्ट्रिम प्रदायकसँग ब्यान्डविथ खरिद गरेर सेवा दिने गरेका छन् ।
एयरटेलको सेवा खरिद गरेका अपरेटरहरू बढी प्रभावित बनेको र भारततिर कतै तारमा क्षति पुगेको एक सेवा प्रदायकले बताए । आईस्पानका प्रमुख कार्यकारी अधिकृत सुभाष खड्काले भने पछिल्ला केहि दिनदेखि नै एयरटेलको कनेक्टिभिटीमा बारम्बार समस्या देखिँदै आएको जानकारी दिए ।
यसअघि बैशाखमा एयरटेलले नेपालमा पठाउँदै आएको इन्टरनेट ब्यान्डविथ काटिदिएको थियो । इन्टरनेट सेवा प्रदायकहरूले ब्यान्डविथ खरिद वापतको रकम भारतीय अपस्ट्रिम प्रोभाइडरलाई नबुझाएकाले नेपालतर्फको इन्टरनेट काटिदिएको बताएका थिए ।
