केयू उपकुलपतिमा पुनः दरखास्त माग

संशोधित कार्यविधिअनुसार शैक्षिक योग्यता स्नातकोत्तर आवश्यक, बुधबारसम्म दरखास्त दिन सकिने मेडिकल विधाका प्राध्यापकले आवेदन दिन वञ्चित गरिएको भन्दै गुनासो गरेपछि केयू सभाले यही माघ ४ मा कार्यविधि संशोधन गर्न निर्देशन दिएको थियो

माघ १९, २०८१

कान्तिपुर संवाददाता

Re-apply to KU Vice-Chancellor

काठमाडौँ — काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित खोज तथा सिफारिस समितिले शुक्रबार पुनः दरखास्त आह्वान गरेको छ । आगामी बुधबारसम्म दरखास्त दिन सकिने समितिले जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि पुस १८ मा दरखास्त माग गर्दा १७ जनाले आवेदन दिएका थिए । तीमध्ये १६ प्राध्यापकको आवेदन समितिले स्वीकृत गरी सार्वजनिक गरेको थियो । मेडिकल विधाका प्राध्यापकले आवेदन दिन वञ्चित गरिएको भन्दै गुनासो गरेपछि केयू सभाले यही माघ ४ मा कार्यविधि संशोधन गर्न निर्देशन दिएको थियो । कार्यविधिमा विद्यावारिधि वा सो सरहको उपाधि प्राप्त प्राध्यापकले आवेदन दिन पाउने उल्लेख छ । कार्यविधि संशोधन गरी पुनः दरखास्त माग गरिएको समितिले जनाएको छ ।

संशोधित कार्यविधिमा विद्यावारिधिका सट्टा शैक्षिक योग्यता स्नातकोत्तर तोकिएको छ । विद्यावारिधि योग्यता तोक्दा चिकित्साशास्त्रमा एमडी, एमएस गरेका प्राध्यापक प्रतिस्पर्धाबाट छुटेको विषय सभामा उठेको थियो । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सभामा कार्यविधि पुनर्विचार गर्न ध्यानाकर्षणसमेत गराएका थिए । 

सभाले केयूका संस्थापक उपकुलपति सुरेशराज शर्माको संयोजकत्वमा ३ सदस्यीय उपकुलपति खोज तथा सिफारिस समिति गठन गरेको थियो । माघ ४ मा उपकुलपति भोला थापाको कार्यकाल पूरा भएपछि निमित्तको जिम्मेवारी रजिस्ट्रार अच्युत वाग्लेले पाएका छन् । पहिलो चरणमा भाबी उपकुलपतिका लागि थापा र वाग्लेसहित पूर्वरजिस्ट्रार सुबोध शर्मासहित १६ जनाको आवेदन स्वीकृत भएको थियो । त्यस्तै मेघनाथ दंगाल, श्यामनारायण लाभ, नवीन पोखरेल, बालचन्द्र लुइँटेल, हरिप्रसाद न्यौपाने, विभूतिरञ्जन झा, कन्हैया झा, जनार्दन लामिछाने, मनीष पोखरेल, विमप्रसाद श्रेष्ठ, वेदमणि दाहाल, राजेश नेपाल र धिरज गिरीले दरखास्त दिएका थिए ।

समितिले एक सय पूर्णांकमा आवेदकको मूल्याङ्कन गर्ने कार्यविधिमा उल्लेख छ । शैक्षिक योग्यता, प्राध्यापक पदको कार्य अनुभव, पदाधिकारीको अनुभव, अनुसन्धान पुस्तक/लेखलगायत प्रकाशन, शैक्षिक क्षेत्रमा गरेको योगदान, विश्वविद्यालयसम्बन्धी सोचपत्र, कार्ययोजना प्रस्तुतीकरणको मूल्याङ्कनका लागि छुट्टाछुट्टै अंक विभाजन गरिएको छ । सबैभन्दा बढी २०/२० अंक प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि विभाजन गरिएको छ । सोचपत्र र कार्ययोजनाका लागि १५/१५ अंक तोकिएको छ । 

प्राज्ञिक क्षेत्रमा गरिएको योगदानलाई ९, प्राध्यापक पदको अनुभवका लागि ५, प्राज्ञिक अनुसन्धान र प्रकाशन, अनुसन्धान परियोजना सञ्चालनलाई ४/४ अंक तोकिएको छ । अनुभव र शैक्षिक योग्यतालाई २/२ अंक राखिएको छ । आवेदकको सर्टलिस्ट गर्दै विज्ञ समूहबाट मूल्याङ्कन गरिने व्यवस्था कार्यविधिमा छ । सबैभन्दा बढी अंक प्राप्त गर्ने ३ जनाको नाम नियुक्तिका लागि कुलपतिलाई सिफारिस गरिने समितिले जनाएको छ । समितिमा चिकित्सक डा. अर्जुन कार्की र पूर्वसचिव जनार्दन नेपाल सदस्य छन् ।

कान्तिपुर

Link copied successfully