बेलायती राजाको सुरक्षा दलमा नेपाली

'गोर्खाबाट छानिने म पहिलो हुँ । सेरेमोनियल ड्युटीका क्रममा किंग्स गार्ड टिम नै संलग्न हुन्छ । हेड अफ स्टेटको भिजिटका बेला, संसद् सुरु हुने बेला राजाको सम्बोधनका क्रममा, शाही परिवारको स्वर्गारोहण हुँदा आदि समारोहमा किंग्स गार्ड परिचालन गरिन्छ ।'

माघ १८, २०८१

नवीन पोखरेल

Nepalese in British King's security team

लन्डन — बेलायती राजा चार्ल्स तृतीयको सुरक्षा दलमा एक भूतपूर्व ब्रिटिस गोर्खा छनोट भएका छन् । ब्रिटिस सेनाको उच्च तह लेफिटनेन्ट कर्णेलबाट अवकासप्राप्त टोल खाम्चा मगर ब्रिटिस आर्मीको हाउस होल्ड डिभिजनअन्तर्गत किंग्स गार्डमा छनोट भएका हुन् ।

आउँदो फेब्रुअरी २० तारिखदेखि आफ्नो ड्युटी सुरु हुने मगरले जनाए । राजा चार्ल्स संलग्न भएको अफिसियल समारोहमा इनर सर्कलमा बसेर काम र सुरक्षा आफ्नो कर्तव्य भएको खाम्चा मगरले बताए । गत अक्टोबरमा अप्लाइ गरेका उनले विभिन्न प्रक्रियासहित तीन चरणको अन्तर्वार्ता पूरा गरेर गत बिहीबार छनोट भएको खबर पाएको जनाए । ब्रिटिस सेनामा कम्तीमा २२ वर्ष सेवा गरेको, एक्जाम्पलरी सर्भिस्, मेडिकल फिट, मिलिट्रीमा क्लिन रेकर्ड र आइडियल क्यारेक्टर भएको, मिलिट्री सिभी, मेडल पाए नपाएको जस्ता कुराबाट छनोट हुने खाम्चा मगरले बताए ।

'पहिला राजदरबारका निकटलाई मात्र छनोट गरिन्थ्यो । पछि इक्वेलिटी एन्ड डाइभर्सिटी र इन्क्लुसिभ हुनुपर्छ भनेपछि ब्रिटिस आर्मी, नेभी, रोयल एयर फोर्सलाई पनि दिन थालियो,' मगरले कान्तिपुरसँग भने, 'गोर्खाबाट छानिने म पहिलो हुँ । किंग्स गार्ड सेरेमोनियल ड्युटीका क्रममा टिम नै संलग्न हुन्छ । हेड अफ स्टेटको भिजिटका बेला, संसद् सुरु हुने बेला राजाको सम्बोधनका क्रममा, शाही परिवारको स्वर्गारोहण हुँदा आदि समारोहमा किंग्स गार्ड परिचालन गरिन्छ ।'

बेलायती सेनाको उच्च तहमा पुगे नेपाली

बेलायत र नेपालबीच २०८ वर्ष बढी लामो कूटनीतिक सम्बन्ध छ । गोर्खाहरूले राजा र ब्रिटिस साम्राज्यलाई सेवा गरिरहेको ऐतिहासिक पृष्ठभूमिमा यो ड्युटीभन्दा बढी सम्मान आफूलाई अरु नभएको खाम्चा मगरले बताए । 'गाउँमा हुर्किएको सामान्य मानिस रोयल हाउस होल्डको सदस्य हुने भएपछि यो अवसर किन छोड्ने भन्ने लाग्यो,' उनले सुनाए, 'मेरो नियुक्ति पर्सनल इन्ट्रेस्टभन्दा पनि नेपाल र गोर्खाको प्रतिष्ठासँग गाँसिएको छ जस्तो लाग्छ ।'

बाल्यकालदेखि नै अरुले गरेभन्दा केही भिन्न काम गर्न अगाडि सर्थे उनी । 'मैले ब्रिटिश आर्मीको एक्टिभ सर्भिसमा हुँदा पनि सिनियर कमान्डरको सल्लाहबमोजिम फरक काम गरेको थिएँ । एक जना जनरल साबले प्यालेसमा यस्तो काम छ अप्लाइ गर्नु भनेपछि मैले गरेँ', उनले भने, 'बुबा आमाको मार्गदर्शन र कडा परिश्रम गर्नुपर्छ भनेर उहाँहरूले सिकाएको संस्कार फलो गर्दै आएको छु ।' 

खाम्चा मगरले यसअघि रोयल हाउस होल्डमा १८ महिना काम गर्ने अवसर पाएका थिए । ब्रिटिस आर्मीमा ३५ वर्ष, ११ महिना सेवा गरेका खाम्चा मगरले बेलायती सेनाको छैटौं वरीयतामा रहेको लेफिटनेन्ट कर्णेलबाट सन् २०२२ मा अवकास लिएका थिए । ब्रिटिस आर्मीको सिपाहीबाट सेवा सुरु गरेपछि लेफ्टिनेन्ट कर्णेल नै उच्च तह हो ।

१९ वर्षको कलिलो उमेर सन् १९८७ जनवरीमा भर्ती भएका उनी स्याङ्जाको शिरकोट करादीमा जन्मिएका हुन् । उनले विश्वभरका सैनिक अधिकृतले प्रशिक्षण लिने ठाउँ ब्रिटिस आर्मी हेडक्वार्टर रोयल मिलिट्री एकडेमी स्यान्डहर्स्टमा समेत लामो समय काम गरे । बेलायतस्थित सैनिक शिक्षालय रोयल मिलिट्री एकेडेमी स्यान्डहर्स्ट विश्वमै कहलिएको छ ।

बुबा चन्द्रवीर खाम्चा र आमा नर्मताका सुपुत्र टोलले सन् १९८६ मा लिलाकुमारीसँग बिहे गरे । उनका दुई छोरी र एक छोरा छन् । छोरा अमेरिकन कम्पनीमा म्यानेजर छन् भने मगरका ५ भाइ र ५ बहिनी छन् । एक जना भाइबाहेक अरु सबै लाहुरे (सिंगापुर, भारतीयसमेत) छन् । 

खाम्चा मगर सेवाका दौरान खाडी युद्धमा साउदी अरबदेखि कोसोभो, टर्की, इराक, अफगानिस्तानलगायत कयौं देशमा खटिए । सन् २०१६ मे देखि डिसेम्बरसम्म ८ महिना उनले बग्दाद र कुवेतमा समेत काम गरे ।

नवीन

Link copied successfully