बेलायती सेनाको उच्च तहमा पुगे नेपाली

माघ २१, २०७४

नवीन पोखरेल

लन्डन — एकजना गोर्खा सैनिक बेलायती सेनाको उच्च तहमा पुग्न सफल भएका छन् । ५० वर्षीय टोल खाम्चा मगर गत बिहीबार लेफिटनेन्ट कर्णेल पदमा पदोन्नति भएका हुन् । उक्त पद बेलायती सेनाको छैटौं वरीयतामा छ । 

१ फेब्रुअरीमा अल्डरसटस्थित रिजनल कमाण्ड हेडक्वार्टरमा औपचारिक घोषणापछि खाम्चालाई अहिले बधाइ ग्रहण गर्दैमा भ्याइ नभ्याइ छ । ‘भाग्य, खुबी, मिहिनेत र कामप्रति इमान्दार नै मेरो सफलताको कारण होला’, खाम्चाले आइतबार कान्तिपुरसँग भने, ‘म एकदम खुसी छु । यो प्रमोसन असम्भव त थिएन तर सिपाहीदेखि भर्ती भएर यहाँसम्म आइपुगिएला भन्ने सोचेकै थिइनँ ।’ उनको पदावधि अब करिब ५ वर्ष हुनेछ । ‘रिटायर्ड हुँदा नेपाल र नेपालीको इज्जत राखेर फर्कन्छु’, उनले सुनाए । 


ब्रिटिस सेनामा गोर्खा भर्ती सुरुआतको झण्डै २०२ वर्ष अवधिमा खाम्चा उच्च तहमा पुग्ने चौंथो नेपाली हुन् । यसअघि उक्त पदमा लालबहादुर पुन, विजय रावत र यामबहादुर राना पुगे पनि उनीहरु अहिले रिटायर्ड भइसके ।


स्याङ्जा शिरकोट करादीमा जन्मिएका उनले प्राथमिक तह गाउँमै पढे । बुटवलबाट एसएलसी । उनका बावु पनि दोस्रो विश्वयुद्ध लडेका योद्धा थिए । तर, बावु आर्मीमा लागे ‘घर न घाट’को भइन्छ भन्ने ठान्थे । छोरालाई कानुन पढाउने बावुको इच्छाविपरीत खाम्चा पुल्चोक इन्जिनियरिङ क्याम्पस भर्ना भए । कलेजका साथीहरु भर्ती हुन जाने हल्ला सुनेपछि उनी पनि पछि पछि लागे । ‘म शारीरीक रुपमा त्यस्तो दरिलो पनि थिइनँ तर भाग्य र साथीको संगतले आर्मीमा भर्ती गरायो’, उनी विगत सम्झन्छन् ।  


सन् १९८७ जनवरीमा आर्मी भर्ती भए उनी । खाम्चाको पल्टन क्विन्स् गोर्खा सिग्नल भए पनि अहिले बाहिर बसेर काम गरिरहेका छन् । सेवाका दौरान खाडी युद्धमा साउदी अरब पुगे । कोसोभो, टर्की, इराक, अफगानिस्तानलगायत कयौं देश खटिए । अमेरिकाले सन् २००३ मा इराक हान्दा खाम्चा अमेरिकी र ब्रिटिस सेनासँग मिलेर कतारमा योजना बनाइरहेका थिए । 


सन् २०१६ मे देखि डिसेम्बरसम्म ८ महिना उनले बग्दाद र कुवेतमा काम गरे । आतंककारी संगठन आइएसले इराकको बग्दाद कब्जा गर्न प्रयत्न गरिरहँदा अमेरिकी, ब्रिटिससहितको संयुक्त सुरक्षा फौजअन्तर्गत चिफ अफ स्टाफ भएर कमाण्डरको तर्फबाट हेडक्वार्टर सञ्चालन गर्ने जिम्मा उनलाई थियो । कमाण्डरलाई सल्लाह सुझाव दिने र प्राथमिकता के हो भनिदिने गर्थे उनी । 


सन् २०१२ फेब्रुअरीमा अफगानिस्तान गएर जुलाईमा फर्किए उनी । अफगानिस्तान र इराकको अवस्था फरक थियो । इराकमा अमेरिकी सेनाले नेतृत्व गरिरहेको थियो ब्रिटिस सेनाको सपोर्टिङ रोल मात्र । तर, अफगानिस्तानमा लडाइँ हुँदा ब्रिटिस सेना अग्रपङ्तिमा । त्यतिखेर खाम्चाले योजनासहित सञ्चार उपकरणहरु किनेर ब्रिटिस सेनालाई पठाउने काम गरे । चार महिना जति त उनी आफूले पठाएको सञ्चार सामाग्रीको प्रभावकारिता बुझ्न फिल्डमै पुगे ।


विश्वमै कहलिएको बेलायतस्थित सैनिक शिक्षालय रोयल मिलिट्री अकाडमी स्याण्डहर्सटमा कमाण्डिङ अफिसर पछिको भूमिका समेत उनले निर्वाह गरे ।


बेलायतको नेपाली समुदायसँग निकट रहे पनि जातीय, धार्मिक र राजनीतिक मुद्दाबाट टाढा नै बस्न रुचाउने उनले बताए । नेपाल आउजाउ गरिरहन्छन् उनी । सोमबारबाट जिम्मेवारी सम्हाल्ने उनले कामका सिलसिलामा नेपाल नै जान सकिने संकेत पनि गरे । 

नवीन

Link copied successfully