काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार नै भ्रष्टाचार र भ्रष्टाचारीहरूको संरक्षणमा लागिरहेको आरोप बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष लिङदेनले अहिलेसम्मको स्थिति हेर्दा सरकारले भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा नै लागिरहेको बताएका हुन् ।
अध्यक्ष लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीकै वरिपरिका मान्छेले भ्रष्टाचार गरिरहेको पनि बताए । 'तपाईंको यो ६ महिने कार्यकालमा अहिले पनि तपाईंको वरिपरिका मान्छेहरूले सरकारले नियुक्त गर्ने विभिन्न पदमा करोड-करोड अफर गरिरहेका छन् । तपाईंले धक्कुका साथ भन्नुभयो म भ्रष्टाचार गर्दिनँ गर्न दिन्नँ भनेर । तपाईंले गर्नुहुन्छ गर्नुहुन्न थाहा छैन, तपाईंको वरिपरिकाले गरिरहेका छन् ।’
प्रधानमन्त्री ओलीले शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै आफूले भ्रष्टाचार गरेको भए देखाउन चुनौती दिएका थिए । 'दुनियाँको अघि उभिएर भन्न चाहन्छु । भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ । कसैसँग दम छ भने भ्रष्टाचार गरेको कुनै मात्रामा, कुनै पनि ठाउँमा भ्रष्टाचार गरेको एउटा कुरा ल्याओस्,' प्रधानमन्त्री ओलीले भनेका थिए ।
राप्रपा अध्यक्ष लिङ्देनले भने अहिलेसम्मको स्थिति हेर्दा भ्रष्टाचार र भ्रष्टाचारीहरूको संरक्षणमा नै लागिरहेको जस्तो लागेको बताए । 'भ्रष्टाचारसम्बन्धी ऐन पेस हुँदा कुनै पनि पदाधिकारी पदबाट बिदा भएपछि पाँच वर्षभित्रमा उजुरी हुनुपर्छ भनिएको थियो । तर प्रधानमन्त्रीले प्रतिवाद गर्नुभयो,' उनले भने ।
अध्यक्ष लिङ्देनले निरन्तर रूपमा हुने कामलाई देखाएर सरकारले ६ महिनाको उपलब्धि सुनाएको बताए । 'यो सरकार नभएको भएर सिद्धबाबाको सुरुङ मार्ग ब्रेक थ्रु र विद्युत् व्यापारका लागि बंलादेशसँग सम्झौता हुने थिएन ?,' लिङ्देनले प्रश्न गरे, 'कांग्रेस र एमाले मिलेर बनेको सरकारको उपलब्धि यही हो । यो हर्ने हो भने मुलुकमा सरकार छैन भने हुन्छ ।'
