काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले कांग्रेस-एमालेको सरकार गठन भएको करिब सात महिनाको अवधिमा उल्लेख्य केही सुधार नभएको बताएका छन् ।
प्रतिनिधिसभाको पाँचौं अधिवेशनको पहिलो बैठकलाई शुक्रबार सम्बोधन गर्दै सांसद पाण्डेले सरकार गठनको करिब सात महिना अवधिमा उल्लेख्य केही सुधार नभएको दाबी गरेका हुन् । 'आर्थिक सुधार भएको छैन । बेरोजगारी दर घटेको छैन । युवाहरु विदेशिनेक्रम रोकिएको छैन । गाउँहरु खाली भएका छन् । त्यसोभए सरकारले गरेका उपलब्धि के हुन् ?', उनले प्रश्न गरे ।
सांसद पाण्डेले दुई तिहाइ भएका बेला सरकार जे गरे पनि हुन्छ भन्ने शैलीमा प्रस्तुत हुन नहुने बताए । उनले सरकारले बहुमतको दम्भमा अध्यादेश ल्याएको पनि बताए । अध्यादेश ल्याउनु सरकारको अधिकार भए पनि यसले संसद्को भूमिका र राजनीतिक दलहरुको आन्तरिक लोकतन्त्र कमजोर बनाउने उनको भनाइ थियो ।
'सरकारले अध्यादेश ल्याउन पाउँदैन भन्ने होइन, पाउँछ । तर केही दिनमा संसद् अधिवेशन सुरु हुँदैछ भन्ने जानीजानी अध्यादेश ल्याइएको छ', उनले भने, 'अध्यादेश ल्याउने प्रवृत्तिले सांसदलाई पार्टीभित्रै पनि कमजोर बनाउँछ । अध्यादेशमा छलफल गर्ने ठाउँ छैन, संशोधन आवश्यक छैन भन्ने शैलीमा सांसदहरुलाई डोर्याउँछ ।'
त्यस्तै, सबै निर्वाचन क्षेत्रका लागि रणनीतिक सडक निर्माण र सबै पालिकामा स्वास्थ्यचौकी निर्माणको कार्य निकै सुस्त रहेको पाण्डेले बताए । बूढीगण्डकी जलविद्युत् आयोजना र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल शीघ्रताका साथ अघि बढाउन पनि उनले माग राखे । कृषिमा आत्मनिर्भर हुने कुरामा सरकारको ध्यान जान नसकेको समेत उनको भनाइ छ ।
