काठमाडौँ — कांग्रेसको संसदीय दलको बैठकमा पाथीभराको केबलकारको विषय उठेको छ । शुक्रबार संसद् भवनस्थित ल्होत्से हलमा बसेको बसेको बैठकमा सम्बन्धित जिल्लाका सांसदहरूले केबलकारका विषयमा भएको द्वन्द्वको विषय उठाएको प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए ।
घिमिरेले भने 'गृहमन्त्रीले संसदीय मामिला मन्त्रालयको सचिव बोलाएर वार्ता समिति बनाएर वार्ता गरेर सकारात्मक ढंगबाट टुङ्ग्याउन निर्देशन दिनुभएको छ ।'
बैठकमा काँग्रेस सांसदहरूले आगामी संघको निर्वाचन स्थानीय तहको निर्वाचन भन्दा पहिला गर्ने गरी आवश्यक व्यवस्था मिलाउन पनि माग गरेका छन् । प्रमुख सचेतक घिमिरेले स्थानीय तहको निर्वाचन भन्दा अगाडि आम निर्वाचन गर्ने व्यवस्था मिलाउन सांसदहरूले माग गरेको सुनाए ।
उनले आज सांसदहरूको बोल्ने क्रम सकिएको र अब मन्त्रीहरू, पदाधिकारीहरू र नेताहरूले बोल्ने पालो बस्ने २४ गते बस्ने संसदीय दलको बैठकमा हुने पनि बताए । बैठकमा अध्यादेशको विषयमा पनि कुरा उठेको उनले बताए पनि त्यसबारे विस्तृतमा बताएनन् ।
