काठमाडौँ — संसद्को प्रमुख प्रतिपक्ष माओवादीले सरकारले ल्याएका अध्यादेश अस्वीकार प्रस्ताव गर्ने भएको छ । माओवादीको केन्द्रको संसदीय दलको बैठकले अध्यादेश अस्वीकार गर्ने प्रस्ताव गर्ने भएको हो ।
अध्यादेश ल्याउने विधिको विरोध गरिएको र प्रतिनिधिसभा नियमावलीको व्यवस्थाअनुसार अध्यादेश अस्वीकार गर्ने प्रस्ताव दर्ता गराउने माओवादीका सांसद माधव सापकोटाले जानकारी दिए । 'विपक्षी दलहरूसँग सल्लाह गरेर अध्यादेश ल्याउने विधिको विरोधस्वरुप नियमावलीअनुसार अध्यादेश अस्वीकार प्रस्ताव दर्ता गराउने निर्णय भएको छ,' उनले भने । अध्यादेशको विषयवस्तु भन्दा पनि संघीय संसद्को अधिवेशन आह्वान गर्ने बेलामा अध्यादेश ल्याएकाले उक्त प्रक्रियाको विरोध गर्नका लागि अस्वीकार प्रस्ताव दर्ता गर्न लागिएको उनले बताए ।
भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संसोधन) अध्यादेश, निजीकरण (पहिलो संसोधन) अध्यादेश, र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी भएका थिए ।
अध्यादेशका विषयवस्तुको सैद्धान्तिक पक्षको अध्ययन गर्नका लागि कार्यदल गठन गर्नेबारे पनि संसदीय दलको बैठकमा छलफल भएको थियो । अध्यादेशका विषयवस्तु अध्ययन गर्नका लागि भनेर महासचिव देवप्रसाद गुरुङको संयोजकत्वमा कार्यदल गठन गर्नेबारे चर्चा भएको थियो ।
त्यस्तै, माओवादीले अध्यादेश प्रतिस्थापन विधेयक ल्याउँदा पार्टीबाट अध्ययन गरेर संयुक्त रूपमा संशोधन प्रस्ताव राख्ने तयारी गरेको छ ।
