विपिन रिहाइको लागि कतारको भूमिका खोजिरहेको नेपाल

विपिनको रिहाइको लागि नेपालले सबैभन्दा बढी कतारको भूमिका खोजिरहेको छ । यो विषय कतारको भैंसेपाटी (ललितपुर)स्थित कतारी दूतावासदेखि अमिरी दिवानसम्म पटक पटक पुर्‍याइएको छ । तर, नेपालले आशा गरेअनुसार नतिजा आइरहेको छैन । 

माघ १७, २०८१

होम कार्की

Nepal is looking for Qatar's role for Bipin's release

काठमाडौँ — कञ्चनपुरका विपिन जोशी प्यालेस्टिनी विद्रोही समूह हमासको बन्धकबाट कुन दिन मुक्त होलान् ? यति लामो दिनसम्म विपिनलाई इजरायलको आक्रमणबाट तहसनहस पारिएको गाजापट्टीमा हमासले कसरी राखिरहेको होला ? उनको अहिलेको स्वास्थ्य अवस्था कस्तो होला ? नेपाललाई यसको यकिन जवाफ दिन सक्ने एउटै मात्रै बलियो कूटनीतिक माध्यम कतार हो ।

जोशी हमासको बन्धकमा रहेको बिहीबार (माघ १७ गते) चार सय ८२ दिन पुगेको छ । इजरायल र हमासबीच मध्यस्थता गरिरहेको कतारसँग विपिनको रिहाइको लागि नेपालले पहिलो दिनबाटै जति महत्त्व दिएर संवाद र पहलको आशा गरिरहेको छ, त्यसको नतिजा बिहीबारसम्म देखिएको छैन ।

कतारसँग नेपालको बलियो श्रम कूटनीतिक सम्बन्ध स्थापित छ । कतारको लोभलाग्दो विकासको तीन दशकको अवधिमा मात्रै १९ लाख नेपाली श्रमिकको कडा मिहेनत, इमानदारिता र लगनशीलता जोडिएको छ । कतारले चाहेको र देखेको हरेक सपनालाई साकार पार्नेमा नेपालीको पसिनालाई बिर्सन मिल्दैन । त्यही भएर होला,  यसलाई कतार आफैंले राष्ट्रिय–अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालीसहितको आप्रवासी समुदायको प्रशंसा व्यक्त गर्दै आइरहेको छ । यो विषयलाई माघ १३ गते अमिरी दिवानमा ओहोदाको प्रमाणपत्र बुझाउन पुगेका नवनियुक्त राजदूत रमेशचन्द्र पौडेलसँग कतारी अमिर शेख तमिम विन हमाद अलथानीले दोहोर्‍याएका थिए, ‘नेपाली आप्रवासी समुदायलाई स्वागत गर्न पाउँदा खुसी लागेको छ ।’

पछिल्लो डेढ वर्षको हरेक दिन नेपाल र नेपाली समुदायले खोजिरहेको व्यक्ति हो– विपिन जोशी । जसको रिहाइको लागि नेपालले सबैभन्दा बढी कतारको भूमिका खोजिरहेको छ । यो विषय कतारको भैंसेपाटी (ललितपुर)स्थित कतारी दूतावासदेखि अमिरी दिवानसम्म पटक पटक पुर्‍याइएको छ । गत अप्रिलमा नेपाल आइपुगेका अमिर अलथानीसँग राष्ट्रपति रामचन्द्र पौडेल र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले विपिनको यथाशीघ्र रिहाइको लागि सहजीकरण गरिदिन अनुरोध गरेका थिए । माघ १३ गतेको भेटमा पनि नेपालको तर्फबाट विपिन जोशीको रिहाइबारे अमिर अलथानीलाई पुनः स्मरण गराइएको थियो ।

‘इजरायल र प्लालेस्टाइनबीच युद्धविराम गर्न मध्यस्थताको लागि अमिर र कतार सरकारले खेलेको नेतृत्वदायी भूमिकाप्रति हार्दिक आभार व्यक्त गर्दछु,’ कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेलले कतारी अमिरसमक्ष भनेका थिए,‘बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको यथाशीघ्र रिहाइको लागि सहजीकरण गरिदिन अनुरोध गर्दछु ।’

कतारले नेपालको बारम्बार गरिरहेको यो अनुरोधलाई कतिको गम्भीरतापूर्वक लिएको छ ? प्रस्ट रूपमा खुल्दैन । कतारले साँच्चिकै चाहिहालेको भए विपिन तुरुन्तै रिहाइ हुने विषय टाढाको होइन । यसको लागि विपिन दोस्रो चरणसम्म पर्खनुपर्ने होइन । यो विषय थाई नागरिकको रिहाइले पनि पुष्टि गर्छ । इजरायली अधिकारीहरूका अनुसार बिहीबार रिहाइ हुने ३ जनाको अतिरिक्त थप पाँच जना थाई बन्धकहरूलाई रिहाइ गरिँदै छ ।

हमासको बन्धकमा ३१ जना थाई नागरिक थिए । त्यसमध्येमा पहिलो युद्धविराम गरिएको २०२३ को नोभेम्बरमा २३ थाईलाई हमासद्वारा रिहा गरिएको थियो । बाँकी रहेको ८ जनामध्ये ५ जनालाई बिहीबार मुक्त हुने इजरायलले पुष्टि गरेको छ ।  दुई जना थाई नागरिकको मृत्यु भएको बताइएको छ । यो पाँच जना थाईहरू पहिलो चरणमा रिहाइ हुने ३३ जनाभित्रको होइन । यसअघि २३ जना पनि इजरायल र हमासबीचको वार्तामा टुङ्गाइएको सङ्ख्याभन्दा अलग्गै थियो । यसो हुनुको पछाडि इरान र थाइल्यान्डबीचको कूटनीतिक सम्बन्धले काम गरिरहेको थियो । इरानको आग्रहमा हमासले छाडिदिएको थियो । अहिले ५ जना रिहाइ हुने विषय पनि इरानको आग्रहमा भनिएको छ ।

तर, कतारले भने एक जना नेपालीको हकमा विशेष रूपमा हेरिदिएन । ‘विपिनसँगै बन्धक गरेर लगेका थाई नागरिकहरू छुटिरहेको छ । तर हाम्रो विपिनलाई किन रिहाइ गर्न ढिलाइ भइरहेको छ ? हामीले बुझ्न सकिरहेको छैन ?,’ विपिनका दाजु दीपक जोशीले कान्तिपुरसँग भने,‘हामी छिटो सकुशल विपिनको रिहाइ भएको हेर्न पर्खिरहेका छौँ ।’ 

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully