एमाले उपमहासचिव ज्ञवाली भन्छन् : पूर्वराष्ट्रपति राजनीतिमा सक्रिय हुने कुरा उचित होइन

माघ १६, २०८१

कान्तिपुर संवाददाता

UML deputy general secretary Gyawali says: It is not appropriate for the former president to be active in politics

काठमाडौँ — नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपति भइसकेको व्यक्तिले दलीय राजनीतिमा सक्रिय हुने कुरा उचित नभएको बताएका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले) मा फर्किन लागेको चर्चाबीच ज्ञवालीले  बुधबार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मुलुककै अभिभावक भइकसकेको मान्छे पार्टीको प्रत्यक्ष कार्यकारी भूमिकामा फर्किने कुरा उचित नहुने बताएका हुन् ।

'मुलुककै अभिभावक भइसकेको मान्छे पार्टीको प्रत्यक्ष कार्यकारी भूमिकामा फर्किने कुराचाहिँ उचित हो जस्तो म ठान्दिनँ । सामान्य अवस्थामा पनि त्यो उचित हो भन्ने म ठान्दिनँ । कुनै असामान्य अवस्था उत्पन्न भयो भने हरेक व्यक्तिको भूमिका राष्ट्रले माग्छ । त्यस्तो बेलामा छुट्टै बहस गर्न सकिन्छ,' उनले भने । 

त्यस्तै पूर्वराष्ट्रपति भण्डारीलाई एमालेमा फर्काउनेबारे पार्टीमा कुनै निर्णय नभएको पनि उनले बताए । 'तत्कालै उहाँ नेकपा एमालेको सक्रिया राजनीतिमा फर्किनुहुन्छ भन्ने बाहिर निर्माण गरेको भाष्य जस्तो अध्यक्षसँग प्रतिस्पर्धा गर्न खोज्न आउँदै हुनुहुन्छ भन्ने कुराचाहिँ सही होइन । यसबारे उहाँले नै राष्ट्रलाई आवश्यक परेको बेला म आउनसक्छु भन्नुभएकै छ । पार्टीमा यस विषयमा कुनै कुरा र निर्णय पनि गरेको छैन,' उनले भने । उनले अहिले बाहिर भइरहेका चर्चाहरु अनुमान मात्र भएको बताए । 

कान्तिपुर संवाददाता

Link copied successfully