काठमाडौँ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र नै अपूरो हुने बताएका छन् । उनले कांग्रेस लोकतान्त्रिक प्रणालीको अनुयायी भएकाले लोकतन्त्र बाँच्नका लागि पनि अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता अनिवार्य भएको बताए ।
नेता महरले सामाजिक सञ्जालको दुरुपयोग रोक्ने नाममा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने गरी कानून ल्याउन लागेकोप्रति आपत्ति जनाए । बुधबार भैरहवा विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
'यसलाई कुण्ठित हुने, खलल पुर्याउने, यसमा प्रतिबन्ध गर्ने र समस्या ल्याउने कुनै कुरामा कांग्रेसको सहमति हुँदैन । सामाजिक सञ्जालको दुरुपयोग रोक्न र प्लेटफर्मलाई नियमन गर्न सरकारले जुन विधेयक मस्यौदा गरेर राष्ट्रिय सभामा दर्ता गरेको छ । यसले समग्र लोकतान्त्रिक प्रणालीलाई बचाउन अभिव्यक्ति र प्रेस स्वतन्त्रता आवश्यक छ भन्ने मर्मलाई बुझ्न सक्नुपर्छ,' उनले भने । कांग्रेसले लोकतन्त्रका यी आधारभूत विषयमा कसैसँग कम्परमाइज नगर्ने उनले बताए ।
आधुनिक विश्वमा नागरिकलाई सुसूचित गर्ने दिशामा प्रेसको भूमिका सर्वोपरि रहेको उनले बताए । 'प्रजातन्त्र कांग्रेसको प्राणवायु हो। प्रजातन्त्रको प्राणवायुसँग अभिव्यक्ति र प्रेस स्वतन्त्रता जोडिन्छ। यसका बारेमा हामी एकदम सचेत छौं। यो वा त्यो बहानामा कांग्रेस संलग्न सरकारले र संसद्को सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसले यस्ता प्रकारका विधेयकलाई प्रशय दिँदैन,' उनले भने।
