काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले युवाहरूको उद्यमशीलताले मुलुकको अर्थतन्त्र सुधारमा टेवा पुग्ने बताएका छन् । उनले स्टार्ट अप र उद्यमशीलतामा लागेका युवाहरूलाई सरकारले नीति बनाएर प्रोत्साहनका कार्यक्रमहरूमार्फत् सहयोग गर्नुपर्ने बताए ।
ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बुधबारदेखि आयोजित 'नेपाल स्टार्टअप र एसएमई समिट' मा सम्बोधन गर्दै उनले भने, 'यस्ता समिट र कार्यक्रमहरूले स्थानीय उद्यमशीलतालाई प्रोत्साहन गर्दै लगानीकर्तालाई पनि अवसरका लागि प्रेरणा मिल्ने छ भने बेरोजगारी समस्यामा पिरोलिएका युवा जमातमा स्वरोजगारको नयाँ ढोका खोल्नेछ । नवप्रवर्तन र उद्दमशीलताका माध्यमबाट विश्वव्यापी मन्दीको मारमा परेको मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउन समेत टेवा पुग्ने मेरो विश्वास छ ।'
सभापति देउवाले उक्त समिटमा स्वेदशमै केही गरौं भन्ने भावना बोकेका युवा र महिला समुदायको उद्यमलाई प्रोत्साहन गर्न के कस्तो नीति निर्माण गर्ने भन्ने बिषयमा छलफल हुने र त्यसका लागि मद्दत पुग्ने अपेक्षा गरेको बताए ।
'गाउँ गाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सिर्जना गर्नु पर्ने अहिलेको अवश्यकता हो । गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा सानो लगानीले पनि रोजगारी र आत्मनिर्भरतामा सहयोग पुर्याउँछ,' उनले भने, 'पछिल्लो समय स्टार्ट अप व्यवसायतर्फ आकर्षण बढ्दो छ । युवा पुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढंगले काम गर्ने प्रयास गर्दैछन् । यस्ता उद्यम संचालन गर्न सहुलियतपूर्ण ऋण, तालिम, सीप विकास र विशेष अनुदान पनि आवश्यक पर्छ । व्यवसायमा टिक्नका लागि उद्यमीले धैर्य सँगै निरन्तरता दिनुपर्ने भएकाले सरकारको साथ, समर्थन र संरक्षकत्व अपरिहार्य हुन्छ । थोरै लगानीमै स्टार्ट अफ व्यवसायलाई प्रभावकारी रुपमा संचालन गर्ने हो भने रोजगारीमा क्रान्ति ल्याउन पनि सकिन्छ ।'
उनले देशभित्रै अन्य बहुसम्भावनाका क्षेत्रहरू जस्तै कृषि, वन, जडीवुटी, पर्यटन, प्रविधि जस्ता क्षेत्रको समुचित विकासमा विशेष ध्यान दिनसके मुलुकको आर्थिक अवस्था उकास्न ठूलो टेवा पुग्ने बताए । 'आज हाम्रो मुलुकको राष्ट्रिय आय अपेक्षित रुपमा वृद्धि हुन नसक्नुमा एकातिर स्वदेशी तथा विदेशी लगानीको सहज वातावरण बन्न नसक्नु र अर्कातिर विश्व बजारसँग हाम्रो निजी क्षेत्रले सहज प्रतिस्पर्धा गर्न असहज महसुस गरेको हो कि भन्ने देखिन्छ । त्यसैले हाम्रो अर्थतन्त्र उत्पादन भन्दा व्यापारमुखी बन्दै गएको छ,' उनले भने ।
उनले नेपालको स्थानीय उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन गर्ने र वैदेशिक व्यापार घाटा न्यून गर्दै लैजाने उद्देश्यले कांग्रेसले साना तथा मझौला उद्यम व्यवसाय प्रवर्धन गर्ने नीति लिएको बताए ।
