पाथीभरा केबलकारका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए ताप्लेजुङका तीन सांसद

माघ १५, २०८१

आनन्द गौतम

The Home Minister called three MPs from Taplejung to discuss the Pathibhara cable car issue

ताप्लेजुङ — पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार र आन्दोलनको विषयमा छलफल गर्न गृहमन्त्री रमेश लेखकले मंगलबार साँझ ५ बजे यहाँका तीन जना सांसदलाई गृह मन्त्रालय बोलाएका छन् । ताप्लेजुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सांसद योगेश भट्टराई, लीलादेवी बोखिम र उर्मिला थेबेलाई मन्त्री लेखकले बोलाएका हुन् । 

‘म चितवन पुगेको थिएँ, हिजो बेलुका अबेला मात्रै खबर आयो त्यसैले अहिले काठमाडौं फर्कन लागेको छु,’ सांसद बोखिमले भनिन् । अर्का सांसद उर्मिला थेबेले दिउँसो समितिको बैठकपछि मन्त्रालय जाने तयारीमा रहेको बताइन् । उनीहरूले जिल्लाको वास्तविक अवस्था गृहमन्त्रीलाई जानकारी गराउने र आन्दोलनरत समूहलाई वार्तामा बोलाउन गृहमन्त्रीलाई अनुरोध गर्ने संकेत गरेका छन् । 

बोखिमले भनिन्, ‘मैले अस्ति जिल्लामा सिडिओ सावकोमा आन्दोलनरत समूह र प्रशासनबीच छलफल गराएको थिएँ, त्यो विषयमा पनि जानकारी गराउँछु र अहिलेको वस्तुस्थिति जे छ त्यो पनि भन्छु ।’ उनले थप द्वन्द्व चर्कन नदिन आन्दोलनकारीसँग वार्ता गर्नुपर्ने बताइन् । 

भट्टराई र थेबे एमाले सांसद हुन भने बोखिम कांग्रेस सांसद हुन् ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully