हिउँबिनाको माछापुच्छ्रे

‘यो लगातार तेस्रो वर्ष हो, हिउँदमा ८० प्रतिशत कम वर्षा भएको छ, यसले हिमाली क्षेत्रको तापक्रम बढेको छ र भएको हिउँ पनि पग्लिएर सकिएको छ’

माघ १५, २०८१

कुलचन्द्र न्यौपाने

Fishtail without snow

पोखरा — सबेरै सूर्यको प्रकाश माछापुच्छ्रेको चुचुरोमा पर्दै थियो, कास्कीको अस्थाम गाउँकी ६५ वर्षीया विष्णुमाया अधिकारी गत मंगलबार तोरीबारीको डिलमा बसेर टोलाइरहेकी थिइन् ।

‘हिउँद सकिनै लाग्दासमेत माछापुच्छ्रेमा हिउँ देखिएन,’ उनले सुनाइन्, ‘हिजो बूढा (शशी) ले टुप्पोमा अलिकति हिउँ देखियो, रातभरमा तलसम्म झरेर कालो फलाम जस्तो हिमाल अलिकति भए पनि सेतो देखिन्छ कि भन्नुभएको थियो, आज त त्यो हिउँ पनि पग्लिएर सकिएछ ।’

नजिकबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमालको मनमोहक दृश्य हेर्नकै लागि विदेशी र स्वदेशी पर्यटक अस्थाम टाकुरामा आउँछन् । धम्पुस हुँदै मर्दी ट्रेकमा जाने पर्यटक पनि यतैबाट आउजाउ गर्छन् । माछापुच्छ्रेको टुप्पोमा घामको पहिलो झुल्को पुग्दा देखिने लालीलाई क्यामरामा कैद गर्न पहेंलपुर तोरीबारी मडार्दै हिँडिरहेका पर्यटकलाई विष्णुमाया जस्तै स्थानीय बाआमा भन्दै थिए, ‘माछापुच्छ्रे यति धेरै कालो यसअघि कहिल्यै देखिएको थिएन ।’

‘गत साता माछापुच्छ्रेबाट ग्लेसियर फुटेकाले अलिअलि भएको हिउँसमेत बग्यो,’ अन्नपूर्ण इको भिलेजका सञ्चालक विश्व अधिकारीले भने, ‘माछापुच्छ्रे चुच्चो छ, यसमा लामो समय हिउँ रहन सक्दैन, परिरहनुपर्छ । यो वर्ष पानी नपरेकाले हिउँ पनि पर्न सकेन ।’

Fishtail without snow

पोखरा आसपास क्षेत्रबाट माछापुच्छ्रेका साथै अन्नपूर्ण, मर्दीलगायत १२ वटा हिमाल देख्न सकिन्छ । मौसम सफा हुँदा गणेश र मनास्लु पनि देखिन्छन् । धेरै वटा हिमाल देखिए पनि पोखराको पहिचान भनेको माछापुच्छ्रे नै हो । घान्द्रुकमा २५ वर्षदेखि ‘गुरुङ कटेज’ चलाइरहेका व्यवसायी ६० वर्षीय असिम गुरुङ भन्छन्, ‘पर्यटकको पहिलो जिज्ञासा नै माछापुच्छ्रे किन यस्तो भयो भन्ने छ ।’

जलवायु परिवर्तन विज्ञ डा. धर्मराज उप्रेतीले तीन वर्षदेखि हिउँदमा औसतभन्दा निकै कम वर्षा भएकाले यस्तो भएको बताए । ‘पानी नपरेपछि हिमाली क्षेत्रको तामक्रम बढ्छ र भएको हिउँ पग्लन्छ भने नयाँ हिउँ पर्ने प्रणालीको विकास पनि हुन सक्दैन,’ उनले भने । 

उप्रेतीका अनुसार यो लगातार तेस्रो वर्ष हो, हिउँदमा औसतभन्दा असी प्रतिशत कम वर्षा भएको छ । यसले हिमाली क्षेत्रको तापक्रम पनि औसतभन्दा बढी हुन पुगेको छ र भएको हिउँ पग्लिएर सकिएको छ । ‘हिउँ पर्न जुन प्रणाली आवश्यक पर्छ, त्यो विकसित हुन पश्चिमी वायु बलियो हुनुपर्छ, तर कमजोर देखिएको छ,’ उनले भने, ‘भूमध्यसागरको तापक्रम औसतभन्दा कम छ, जसले गर्दा त्यहाँबाट विकसित भएर जुन प्रणाली अफगानिस्तान र पाकिस्तान हुँदै आउनुपर्ने हो, त्यो सक्रिय हुन सकेन र वर्षा भएन, हिमालमा हिउँ परेन ।’ 

उनले माघ १९ मा हल्का वर्षा हुने संकेत देखिएकाले झिनो सुधारको सम्भावना रहेको बताए । ‘तीन वर्षको अवधिमा हिउँदका बेला कुल ५ प्रतिशत मात्र वर्षा भएको छ, यसपालि त अघिल्ला दुई वर्षभन्दा पनि कम वर्षा हुने देखिन्छ,’ उप्रेतीले भने, ‘होचा हिमाललाई बढी असर पारेको छ, जहाँ पहिल्यैदेखि हिउँको लेदो पग्लिएको छैन, तिनमा केही हिउँ देखिएको छ । तर हिउँ पग्लिरहने हिमाल नांगिएका छन् ।’ 

पर्यटन व्यवसायी गुरुङ भन्छन्, ‘हिउँ नपर्दा पर्यटकलाई एकैछिन आश्चर्य चकित बनाउने विषय मात्र होइन, हामी जस्ता हिमालको फेदी र काखमा बस्ने स्थानीयवासीका लागि भने जीवनचक्रमै ठूलो असर पार्ने चिन्ता छ ।’ हिउँदमा पर्याप्त हिउँ पर्दा चैत/वैशाखमा चट्याङ नपर्ने र बालीनाली सप्रने अनुभव स्थानीयको छ । गुरुङ थप्छन्, ‘पहिला–पहिला ग्लोबल वार्मिङ भनेको के होला भनेर अनौठो मानिन्थ्यो, अहिले आँखै अगाडि त्यसको प्रभाव देख्नुपरेको छ ।’

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे जलवायु परिवर्तनले हिमालमा परिरहेको असरलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले नीति र योजना बनाउने गरेको बताउँछन् । ‘स्थानीय तहबाट हुने विकास निर्माण र पूर्वाधारका कामलाई पर्यावरणमैत्री बनाउने काम प्रदेश सरकारले गरिरहेको छ,’ उनी भन्छन्, ‘तर चिन्ताको विषय, जसले बढी कार्बन उत्सर्जन गरेको कारणले समस्या आएको छ, तिनै शक्तिराष्ट्रहरू यो समस्या समाधान गर्नबाट पछि हट्न खोजेको देखिन्छ ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेलगत्तै जलवायु क्षेत्रमा अमेरिकाले दिँदै आएको अनुदान कटौती गर्ने घोषणा गरिसकेका छन् । यसले जलवायु परिवर्तनका लागि भइरहेको कार्यक्रम प्रभावित हुनेमा चिन्ता व्यक्त हुन थालिसकेको छ । 

Fishtail without snow

‘शक्तिशाली राष्ट्रले गरेको कार्बन उत्सर्जनका कारण जलवायु परिवर्तनले हिमाली क्षेत्र सबैभन्दा बढी प्रभावित छ । हामी त्यसको प्रत्यक्ष मारमा छौं, माछापुच्छ्रेमा देखिएको असर त्यसैको परिणाम हो,’ मुख्यमन्त्री पाण्डेले भने, ‘हिमाल बचाउन एउटा प्रदेश सरकार, संघीय सरकारले चाहेर मात्र हुन्न, राष्ट्रिय र अन्तर्राष्ट्रिय पहल चाहिन्छ ।’

माछापुच्छ्रे गाउँपालिका–८ का वडा अध्यक्ष राम गुरुङ माछापुच्छ्रे र वरपर विकसित हुँदै गएको नयाँ–नयाँ ‘ट्रेकिङ रुट’को विस्तारसँगै भेडी गोठहरू आधुनिक सुविधासम्पन्न होटल/रेस्टुरेन्टमा परिणत हुन थालेकाले हिमाली क्षेत्रको ‘इको सिस्टम’ प्रभावित हुँदै गएको ठान्छन् । ट्रेकिङ रुटमा होटल/रेस्टुरेन्टको बढ्दो विकास क्रमसँगै त्यसले हिमाली क्षेत्रको ‘इको सिस्टम’ मा असर पार्ने देखेर आउँदो आर्थिक वर्षदेखि माछापुच्छ्रे गाउँपालिका, अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) र स्थानीय व्यवसायीसमेतको बैठकबाट माछापुच्छ्रे गाउँपालिकाभित्र आगो बाल्न निषेध गरिएको उनले बताए ।

‘एकातिर हिमाल पग्लिरहेको छ, अर्कोतर्फ इको प्रणालीमा असर पार्ने मानव गतिविधि बढिरहेकाले दाउराको प्रयोग रोक्न खोजिएको हो,’ गुरुङले भने, ‘हिमाली क्षेत्रमा एउटा रुख हुर्कन १५/२० वर्ष लाग्छ । दाउराको प्रयोग बढ्दै गयो भने जंगल त सकिन्छ–सकिन्छ, हाम्रो हिमाल पनि रहँदैन ।’ 

कास्कीका पाँच स्थानीय तहमध्ये माछापुच्छ्रे गाउँपालिका तेस्रो ठूलो हो । समुद्र सतहबाट न्यूनतम १०२६ मिटर उचाइदेखि यस गाउँपालिकाभित्र पर्ने माछापुच्छ्रे हिमालको अधिकतम उचाइ ६ हजार ९ सय ९८ मिटर छ । माछापुच्छ्रे र दक्षिण काखमा रहेको अन्नपूर्ण हिमालको रमणीय दृश्यावलोकन यहाँको पर्यटकीय आकर्षण हो । 

माछापुच्छ्रे गाउँपालिका दक्षिणमा सेती र मर्दीको दोभानदेखि उत्तरमा अन्नपूर्ण तेस्रोसम्म फैलिएको छ । यसको दक्षिणी फेददेखि बग्ने सेती मुख्य नदी हो । मोदी, मर्दी, इदीं, सैती, कुइबाङ/राका, सिदिङ, छुम्दी, भलौंदी, बतासे, धिप्राङ, भुर्जुङ, सार्दी, साधु/डाङडुङे खोला यसै क्षेत्रबाट बग्छन् । ती सबै सेतीमा गएर मिसिन्छन् । यी नदी र खोलाबाट साना तथा मझौला क्षमताका विद्युत् उत्पादन हुँदै आएका छन् । सिँचाइ र पोखरा सहरको खानेपानीको मुख्य स्रोत पनि माछापुच्छ्रेबाट बहने नदी/खोला हुन् । 

वडा अध्यक्ष गुरुङ बढ्दो मानव गतिविधि र परिवर्तनले खोलासमेत सुक्दै जान थालेको बताउँछन् । ‘हामी सानो छँदा घलेल गाउँमै १०/१५ फिटसम्म हिउँ पर्थ्यो, अहिले माछापुच्छ्रेमै त्यसमा पनि हिउँदमै हिउँ छैन । हिमनदी विस्तारै सुक्दै गएका छन्,’ उनले भने । 

प्रदेश सांसदसमेत रहेका कास्की नौडाँडाका व्यवसायी गणेश गुरुङ हिमाल कालापत्थर बन्दै जाँदा मानवीय जीवनचक्रमै क्षति पुर्‍याउन सक्ने चिन्ता व्यक्त गर्छन् । उनकै अनुभवमा माछापुच्छ्रे वर्षको दुई पटक हिउँले ढाकिएको हुन्थ्यो । नदी र खोलामा पनि वर्षको दुई पटक बाढी आउँथ्यो । एक पटक वर्षाको पानीले र अर्को पटक हिउँ पग्लेर । ‘माछापुच्छ्रे अहिले त नाकमा बुलाकी नलगाएको महिला जस्तो देखिएको छ, अहिलेसम्म यस्तो देखिएको थाहा छैन,’ उनले भने ।

कुलचन्द्र न्यौपाने

Link copied successfully