रुसी सेनाको करार सकेर फर्कन्छु भनेका विनोद उतै अस्ताए

हरेक पटक युद्ध क्षेत्रबाट फर्केपछि ३७ वर्षीय विनोद पत्नीलाई सुनाउँथे, ‘बाँचें है बूढी, म बाँचें । ठूलो कालबाट जोगिएर आएँ ।’ तर, गत कात्तिक ३० को राति युद्ध क्षेत्रमा गएका उनी फर्केर आएनन् ।

माघ १५, २०८१

होम कार्की

Vinod said that he will return after completing the contract with the Russian army

काठमाडौँ — १४ वर्षीय कृष्ण सुनुवार कोठाबाट भित्र–बाहिर गरिरहेका थिए । एकछिन भित्र पस्थे, पुलक्क हेर्थे । फेरि फुत्त बाहिर निस्किन्थे । उनी बसिरहेको टहराको सानो कोठाभित्र तीन जनाले पराल बेरेर मान्छेको आकार निकाल्दै थिए ।

एकैछिनमा टाउको बन्यो, हेर्दाहेर्दै हात र खुट्टा । त्यही आकारमाथि जौको पिठोको बाक्लो लेदो लिपेर कृष्णका बुबा विनोदबहादुरको शवको प्रतिरूप बनाइयो । टहराको सामुन्ने साँघुरो आँगनमा ‘शव’ राख्न हरियो बाँसको खट राखिएको थियो । ‘शव’ बनाइरहेको कोठा भने विनोदकै थियो । 

रुसको नियन्त्रणमा रहेको युक्रेनको डोनेत्स्क क्षेत्रमा खटिएका ३७ वर्षीय विनोदबहादुर गत कात्तिक ३० देखि सम्पर्कविहीन  थिए । विनोदका साथीले शनिबार उनी मारिएको पुष्टि गर्दै कीर्तिपुरमा बस्ने परिवारमा खबर पठाए । त्यही सूचनाका भरमा परिवारले दाहसंस्कारका लागि परालको शव बनाएको हो ।

मोलुङ गाउँपालिका–७ जेसे, ओखलढुंगाका ७२ वर्षीय बुबा वीरबहादुर छोरा विनोदको दाहसंस्कार गर्न आइतबार राति काठमाडौं आइपुगेका थिए । ६२ वर्षीया आमा नरमाया, ३४ वर्षीया श्रीमती सिर्जना, छोरा कृष्ण कीर्तिपुरमा जग्गा भाडामा लिई टहरा बनाएर बस्दै आएका छन् । ‘बाबु, यो तिम्रो बुबाको शव हो । अब तिम्ले बिस्तारै उचालेर बाहिर लैजानुपर्छ,’ कृष्णका ठूलोबुबा शेरबहादुरले अह्राए । कृष्णले टाउकोपट्टि र आफन्तले खुट्टातिरको भाग समातेर परालको शव कोठाबाट बाहिर ल्याए अनि खटमा राखे । शवलाई सेतो कपडा लपेटियो, त्यसमाथि विनोदको तस्बिर पनि राखियो । तस्बिर भने नेपाली सेनामा काम गर्दाताकाको थियो । पशुपति आर्यघाटमा लगेर सोमबार विनोदको अत्येष्टि गरियो । ‘यो पहिरोबाट जोगिएको थियो । मैले पहिरोमा जेठी छोरी र साइँलो छोरालाई गुमाएँ । अर्की छोरीले आत्महत्या गरिन्,’ कीर्तिपुरमा बंगुर पालिरहेकी नरमायाले भनिन्, ‘यो उड्ने बेला मात्रै थाहा पाएँ । म बूढी अभागी रहेछु ।’ 

नेपाली सेनाबाट राजीनामा दिएलगत्तै विनोद गत वर्ष असोज १७ मा रुस पुगेका थिए । ‘यो टिकटकले गर्नु गर्‍यो । रुसी सेनामा सुविधा नै सुविधा छ । लाखौंको तलब छ । खान, बस्न राम्रो छ भन्ने सूचनाले उहाँलाई छोयो । यहाँको जागिर छाडेर जानुभयो,’ सिर्जनाले कान्तिपुरसँग भनिन्, ‘पहिलो क्याम्पमा त सबै राम्रो रहेछ । जब दोस्रो क्याम्पमा जानुभयो । हामीले वास्तविकता थाहा पायौं । हाम्रो त्यतिखेरबाटै सात्तो गयो । राम्रैराम्रो मात्रै खबर छाइरहेको रुसी सेनाको खतराबारे मंसिरदेखि दुःखै दुःखको कुरा मात्रै सुन्नुपर्‍यो ।’

रुसी सेनामा नेपाली मारिएको औपचारिक सूचना गत वर्षको मंसिरको पहिलो सातादेखि बाहिरिएको थियो । हालसम्म ४७ नेपालीको मृत्यु भएको पुष्टि भइसकेको छ । विनोदको मृत्युको औपचारिक पुष्टि भने परराष्ट्र मन्त्रालयबाट भइसकेको छैन । 

‘मंसिरदेखि टिकटकमा नराम्रो समाचार आउन थाल्यो । मैले मिल्छ भने नेपाल फर्कनुपर्छ भनेर सम्झाएकी थिएँ,’ सिर्जनाले भनिन् । ८ लाख खर्च भएकाले विनोद केही समय पर्खने निधोमा पुगेका थिए । ‘अब दुःख भए पनि सुख भए पनि हेर्दै जाऔं । धेरै दुःख भयो भने सोच्नुपर्ला,’ विनोदले सिर्जनालाई सान्त्वना दिएका थिए ।

गत वर्षको माघतिर उनले गहभरि आँसु पार्दै आफूहरू निकै कठिन र जोखिम अवस्थामा रहेको बताए । ‘अब टेन्सन नगर । कमाएर आउँछु कि मर्छु भनेर घरबाट हिँडेको हुँ । तिमी राम्रो गरेर बस्नू । म आउन सके पनि नसके पनि पैसा मिलाउनू,’ उनले भनेका थिए, ‘जिन्दगीभर म साथमा नभए के भो त ? पैसा भइहाल्छ । छोरालाई आफ्नो आयस्रोतअनुसार पढाउनू ।’

सिर्जनाले विनोदलाई युद्धको भुमरीबाट निकाल्न अनेक उपाय खोजिन् । रुसबाट युक्रेनको क्षेत्रमा छिरिसकेकाहरू आफूले चाहँदैमा फर्कन पाइने अवस्था थिएन । कतिपय नेपालीहरू दलाललाई तीन लाख रुवेल (करिब सवा पाँच लाख रुपैयाँ) सम्म बुझाएर मस्कोसम्म आइपुग्ने गरेका थिए । कतिपय बाटोमा नै समातिएका हुन्थे । 

तर, यता युद्ध मैदानबाट निरन्तर आइराख्ने फोटो र भिडियोले सिर्जनालाई झनै बेचैन बनाउँथ्यो । ‘उहाँले फोटो र भिडियो सबै पठाउँदा मलाई सहनै नसक्ने बनाउँथ्यो । कहिले खान पाइन भन्नुहुन्थ्यो । एक बोतल पानी पनि किनेर खाने ठाउँ छैन भन्नुहुन्थ्यो,’ सिर्जनाले भनिन्, ‘भागेर पनि आउन सक्ने अवस्था बनेन । भागेकाहरूलाई समातेर ल्याउँदा रुसी सेनाले दिनभर बंकर खन्न लगाउँथ्यो । बेलुका भएपछि कुटेको खबर आउँथ्यो । यसले मलाई एकदमै पीडा हुन्थ्यो ।’

विनोद कति पटक युद्ध क्षेत्रमा खटाइए भन्ने सिर्जनालाई केही थाहा छैन । हरेक पटक युद्ध क्षेत्रबाट फर्केपछि विनोद पत्नीलाई सुनाउँथे, ‘बाँचें है बूढी, म बाँचें । ठूलो कालबाट जोगिएर आएँ ।’ क्याम्पमा फर्केपछि पत्नी सिर्जना, छोरा, आमा र आफन्तसँग विनोदको नियमित कुराकानी हुन्थ्यो । सधैं कहालीलाग्दो कथा सुन्दा सिर्जनालाई भक्कानो छुट्थ्यो । विनोद भने भागेर हिँड्दा नेपालीकै बेइज्जत हुने सन्देश जाने ढिपी कस्थे । ‘यहाँ हामीलाई तेरो नेपाली भाग्यो भन्छ । मोबाइल दिँदैन । खोसेर लैजान्छ,’ विनोद सुनाउँथे, ‘भागेर होइन, करार सकेर नै फर्किनेछु ।’

गत कात्तिकमा पहिलो वर्षको करार पनि सकिएको थियो । रुसकै पासपोर्ट पनि बनिसकेको थियो । युद्ध मैदानबाट बाहिर निस्कन पाउने गेटपास पनि रुसी सेनाले दिइसकेको थियो । मस्को आएर हरहिसाब बुझ्ने र छिट्टै नेपाल फर्किहाल्ने भनी सुनाउँथे । ‘अब एकलट अगाडि गएर आएपछि कमान्डरले बिदा दिन्छु भनेको छ । एक महिनाको बिदा दियो भने नेपाल आउने हो,’ उनले भनेका थिए, ‘१० लाख रुबेल भत्ता आएको छैन । मस्कोमा गएर खोजी गर्छु ।’

गत कात्तिक ३० को राति फेरि युद्ध मैदानमा गए विनोद । ‘युद्ध मैदानमा सधैं राति नै जानुहुन्थ्यो । राति नै क्याम्पमै फर्कनुहुन्थ्यो । यस पटक भने उहाँ सुटुक्क जानुभयो,’ सिर्जनाले भनिन्, ‘उहाँ फर्किएको खबर कुरिबसें । म्यासेज छोड्दा पनि रिप्लाई भएन । १५ दिनभन्दा बढी कहिल्यै बस्नुभएको थिएन । २० दिन नाघेपछि खोज्न थालें ।’ सिर्जनाले शनिबार बेलुका भने मर्माहत हुने खबर पाइन् । ‘विनोद दाइको खबर सुखद छैन । उहाँ बित्नुभएको पुष्टि भयो,’ साथीभाइले खबर पठाए ।

होम कार्की दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully