हेलिकोप्टरबाट डोजर आयो, सडक आएन

माघ १५, २०८१

केदार शिवाकोटी

The dozer came from the helicopter, the road did not

रिकु,दोलखा — माथिबाट च्छो-रोल्पा हिमतालबाट बगेर आएको रोल्वालिङ खोला, तल तामाकोशी नदी । यी दुवैले घरेको अनकन्टार भीरमुनि चारैतिरबाट जंगलले घरिएको बस्ती । वारिबाट विगु गाउँपालिका-१ लामाबगरमा रहेको माथिल्लो तामाकोशीको बाँधस्थल जाने प्रवेशमार्गको यात्रा गर्दा चारैतिर भीरमात्रै देखिन्छ । तर त्यही भीरले घेरिएको गाउँ देखिँदैन  ।

त्यही भीरमुनि अवस्थित छ ‘रिकु’ गाउँ । समुन्द्रीय सतहबाट २ हजार १ सय मिटर उचाइमा रहेको गौरीशकंर गाउँपालिका-१ रिकुका स्थानीय अहिले पनि भीरमा घस्रिँदै हिँड्न बाध्य छन् । एक दशकअधिसम्म तुइनको सहारामा तामाकोशी तरेर गाउँ आउजाउ गर्नुपर्ने बाध्यता थियो ।

२०६९ सालमा रिकुमा झोलुङ्गे पुल बनेपछि तुइन हटेको स्थानीय पनमाया तामाङले बताइन् । उनै पनमायाले २०६८ साल साउनमा तुइनको डोरी चुँडिएर साहिँली बुहारी र नातिनी गुमाएकी थिइन् । ‘त्यो कालो दिन म सम्झन सक्दिनँ,  साउनको भेलमा मेरा बुहारी र नातिनी तुइनबाट खसे,’ उनले भनिन्, ‘उनीहरू तामाकोशीमै हराए । गाउँ आउनजान झोलुङ्गे पुल बन्यो, दुःखः जहाँको त्यहीँ छ ।’ 

सडक अभावले कोही बिरामी परिहाले अहिले पनि डोकोको भर पर्नुपर्ने बाध्यता छ । ‘भीरमुनिको लुकेको गाउँ कसले देख्छ र ? यहाँ पनि मान्छे बस्छन् भनेर,’ उनले भनिन्, ‘सिटामोलका लागि एक दिन माया मार्नुपर्छ, त्यो पनि भीरमा झुन्डिएर आउजाउ गर्नुपर्छ ।’ धेरै गाउँमा बाटो बनाउँदै डोजर पुग्छ ।  तर रिकुमा भने हेलिकोप्टर चढेर पुग्यो डोजर ।

The dozer came from the helicopter, the road did notमाथिल्लो तामाकोशी जलविद्युत् केन्द्रअन्तर्गतको अर्को आयोजना रोल्वालिङ खोला डाइभर्सनको कामका लागि हेलिकोप्टरमार्फत डोजर लगिएको छ । २०१३ सालमा टेकबहादुर खड्का रिकुमा आएर बसेका थिए । हाल रिकुमा २२ घरधुरी रहेको ६८ वर्षीय भीमबहादुर खड्काले बताए । ‘म एक वर्षको उमेर हुँदा बुवाले यहाँ ल्याएका थिए,’ उनले भने, ‘एक घरबाट सुरु भएको रिकु गाउँ बन्यो, तर यो गाउँ कसैले देखेका छैनन् ।’ च्छो-रोल्पा हिमताबाट बगेर आएको रोल्वालिङ खोलाको पानी पिउने गरेका गाउँलेले हाल ३ हजार ३ सय मिटरमाथिबाट खानेपानी ल्याएको उनले बताए । ‘खोलाको पानी खाने गरेका थियौं, अहिले निकै माथिको भीरबाट ल्याएका छौं,’ उनले भने, ‘रिकुका दुःख कसैले देखेको छैन, भीरमुनिको बास, छोड्दै हिँडेका कारण गाउँ सुनसान बनेको छ ।’

The dozer came from the helicopter, the road did not२०६८ सालमा तुइन चुँडिँदा बुहारी र नातिनी गुमाएकी पनमाया तामाङ । 

माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको सहयोगले खानेपानी योजना र धारा बनेको उनले बताए । रिकुमा कक्षा ३ सम्म पढाइ हुने विद्यालय थियो । त्यो पनि बालबालिका नभएपछि बन्द भएको ३ वर्ष  भइसकेको मेक तामाङले बताए । ‘बालबालिका नभएपछि सरकारले विद्यालय बन्द गरिदियो,’ उनले भने, ‘भएका ८/१० जना बालबालिका पढाउन गाउँ नै छाडेर कतिपय गाउँले हिँडे, कक्षा ३ सकेपछि कोही रोल्वालिङ खोला तरेर ३ घण्टा लगाएर सिमीगाउँ जाने गरेका थिए, कोही गोगर ।’

विद्यालय बन्द भएपछि गाउँ छाड्ने बढेको उनले बताए । ‘आर्थिक विपन्नता भएका परिवार मात्रै रिकुमा बसेका छन्, यहाँको उत्पादनले मुस्किलले ३/४ महिना खान पुग्छ,’ उनले भने, ‘ज्याला मजदुरी गर्न हरेक दिन भीरको बाटै आउजाउ गर्नुपर्छ, त्यही जोहोले बिहान-बेलुकी हातमुख जोड्ने हो ।’

गएको असोजमा तामाकोशीमा आएको बाढीले पैदलमार्गमा पनि क्षति गरेपछि स्थानीय भीरको बुटा समातेर गाउँ आउजाउ गरिरहेको उनले बताए ।  रिकु गाउँबाटै रोल्वालिङ खोला डाइभर्सन जलविद्युत् आयोजनाको अडिट टनेलको काम थालिएको छ । त्यहीँ काम पाइन्छ कि भन्ने स्थानीयले आश गरेका छन् । उक्त आयोजनाले लामाबगरतर्फ आउजाउ गर्न भीरमा २ मिटर चौडा बाटो बनाइरहेको छ । उक्त पैदलमार्ग बनेमा भने च्छो–रोल्पा हिमतालसहित रोल्वालिङ क्षेत्र घुम्न जाने पर्यटकलाई बाटो छोटिने छ । पैदलमार्ग निर्माणले रिकुका स्थानीयमा केही आश पलाएको स्थानीय मिङमार तामाङले बताए । ‘यो पैदलमार्ग बनेपछि भने रिकुको पनि दिन आउँछ कि,’ उनले भने, ‘भी मुनि लुकेको गाउँ हुँदै च्छो–रोल्पा जाने छोटो बाटो यहीँ पर्छ, स्थानीयले अवसरका रूपमा सदुपयोग गर्न सक्छन् ।’ 

केदार

Link copied successfully