रिकु,दोलखा — माथिबाट च्छो-रोल्पा हिमतालबाट बगेर आएको रोल्वालिङ खोला, तल तामाकोशी नदी । यी दुवैले घरेको अनकन्टार भीरमुनि चारैतिरबाट जंगलले घरिएको बस्ती । वारिबाट विगु गाउँपालिका-१ लामाबगरमा रहेको माथिल्लो तामाकोशीको बाँधस्थल जाने प्रवेशमार्गको यात्रा गर्दा चारैतिर भीरमात्रै देखिन्छ । तर त्यही भीरले घेरिएको गाउँ देखिँदैन ।
त्यही भीरमुनि अवस्थित छ ‘रिकु’ गाउँ । समुन्द्रीय सतहबाट २ हजार १ सय मिटर उचाइमा रहेको गौरीशकंर गाउँपालिका-१ रिकुका स्थानीय अहिले पनि भीरमा घस्रिँदै हिँड्न बाध्य छन् । एक दशकअधिसम्म तुइनको सहारामा तामाकोशी तरेर गाउँ आउजाउ गर्नुपर्ने बाध्यता थियो ।
२०६९ सालमा रिकुमा झोलुङ्गे पुल बनेपछि तुइन हटेको स्थानीय पनमाया तामाङले बताइन् । उनै पनमायाले २०६८ साल साउनमा तुइनको डोरी चुँडिएर साहिँली बुहारी र नातिनी गुमाएकी थिइन् । ‘त्यो कालो दिन म सम्झन सक्दिनँ, साउनको भेलमा मेरा बुहारी र नातिनी तुइनबाट खसे,’ उनले भनिन्, ‘उनीहरू तामाकोशीमै हराए । गाउँ आउनजान झोलुङ्गे पुल बन्यो, दुःखः जहाँको त्यहीँ छ ।’
सडक अभावले कोही बिरामी परिहाले अहिले पनि डोकोको भर पर्नुपर्ने बाध्यता छ । ‘भीरमुनिको लुकेको गाउँ कसले देख्छ र ? यहाँ पनि मान्छे बस्छन् भनेर,’ उनले भनिन्, ‘सिटामोलका लागि एक दिन माया मार्नुपर्छ, त्यो पनि भीरमा झुन्डिएर आउजाउ गर्नुपर्छ ।’ धेरै गाउँमा बाटो बनाउँदै डोजर पुग्छ । तर रिकुमा भने हेलिकोप्टर चढेर पुग्यो डोजर ।
माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रअन्तर्गतको अर्को आयोजना रोल्वालिङ खोला डाइभर्सनको कामका लागि हेलिकोप्टरमार्फत डोजर लगिएको छ । २०१३ सालमा टेकबहादुर खड्का रिकुमा आएर बसेका थिए । हाल रिकुमा २२ घरधुरी रहेको ६८ वर्षीय भीमबहादुर खड्काले बताए । ‘म एक वर्षको उमेर हुँदा बुवाले यहाँ ल्याएका थिए,’ उनले भने, ‘एक घरबाट सुरु भएको रिकु गाउँ बन्यो, तर यो गाउँ कसैले देखेका छैनन् ।’ च्छो-रोल्पा हिमताबाट बगेर आएको रोल्वालिङ खोलाको पानी पिउने गरेका गाउँलेले हाल ३ हजार ३ सय मिटरमाथिबाट खानेपानी ल्याएको उनले बताए । ‘खोलाको पानी खाने गरेका थियौं, अहिले निकै माथिको भीरबाट ल्याएका छौं,’ उनले भने, ‘रिकुका दुःख कसैले देखेको छैन, भीरमुनिको बास, छोड्दै हिँडेका कारण गाउँ सुनसान बनेको छ ।’
२०६८ सालमा तुइन चुँडिँदा बुहारी र नातिनी गुमाएकी पनमाया तामाङ ।
माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको सहयोगले खानेपानी योजना र धारा बनेको उनले बताए । रिकुमा कक्षा ३ सम्म पढाइ हुने विद्यालय थियो । त्यो पनि बालबालिका नभएपछि बन्द भएको ३ वर्ष भइसकेको मेक तामाङले बताए । ‘बालबालिका नभएपछि सरकारले विद्यालय बन्द गरिदियो,’ उनले भने, ‘भएका ८/१० जना बालबालिका पढाउन गाउँ नै छाडेर कतिपय गाउँले हिँडे, कक्षा ३ सकेपछि कोही रोल्वालिङ खोला तरेर ३ घण्टा लगाएर सिमीगाउँ जाने गरेका थिए, कोही गोगर ।’
विद्यालय बन्द भएपछि गाउँ छाड्ने बढेको उनले बताए । ‘आर्थिक विपन्नता भएका परिवार मात्रै रिकुमा बसेका छन्, यहाँको उत्पादनले मुस्किलले ३/४ महिना खान पुग्छ,’ उनले भने, ‘ज्याला मजदुरी गर्न हरेक दिन भीरको बाटै आउजाउ गर्नुपर्छ, त्यही जोहोले बिहान-बेलुकी हातमुख जोड्ने हो ।’
गएको असोजमा तामाकोशीमा आएको बाढीले पैदलमार्गमा पनि क्षति गरेपछि स्थानीय भीरको बुटा समातेर गाउँ आउजाउ गरिरहेको उनले बताए । रिकु गाउँबाटै रोल्वालिङ खोला डाइभर्सन जलविद्युत् आयोजनाको अडिट टनेलको काम थालिएको छ । त्यहीँ काम पाइन्छ कि भन्ने स्थानीयले आश गरेका छन् । उक्त आयोजनाले लामाबगरतर्फ आउजाउ गर्न भीरमा २ मिटर चौडा बाटो बनाइरहेको छ । उक्त पैदलमार्ग बनेमा भने च्छो–रोल्पा हिमतालसहित रोल्वालिङ क्षेत्र घुम्न जाने पर्यटकलाई बाटो छोटिने छ । पैदलमार्ग निर्माणले रिकुका स्थानीयमा केही आश पलाएको स्थानीय मिङमार तामाङले बताए । ‘यो पैदलमार्ग बनेपछि भने रिकुको पनि दिन आउँछ कि,’ उनले भने, ‘भी मुनि लुकेको गाउँ हुँदै च्छो–रोल्पा जाने छोटो बाटो यहीँ पर्छ, स्थानीयले अवसरका रूपमा सदुपयोग गर्न सक्छन् ।’
