काठमाडौँ — सत्तारुढ कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद्बाट विधेयक पारित नगरिए सरकारले अध्यादेश ल्याउने क्रम बढ्ने बताएका छन् ।
सरकार संचालनका लागि अध्यादेश ल्याउनुपर्ने भन्दै संसद्मा विचाराधीन विधेयक चाँडो पारित गर्नुपर्ने प्रमुख सचेतक घिमिरेले भनाइ राखेपछि प्रमुख प्रतिपक्षी माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले प्रतिवाद गरेका थिए ।
प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको मंगलबारको बैठकमा कांग्रेस सचेतकले संसद्मा विचाराधीन विधेयक तत्काल पारित गरिनुपर्ने बताएका थिए । सरकार संचालनमा प्रभाव परिरहेकाले कानुन निर्माण नगरिए अध्यादेश ल्याउने क्रम बढ्ने घिमिरेको भनाइ थियो । 'संसद्ले कानुन बनाएर दिन नसक्ने ? सरकार चलाउनुपर्दैन ? सरकार चलाउनुपर्यो,' घिमिरेले भनेका थिए, 'कानुन बनाएर दिन नसक्ने हो भने अध्यादेश ल्याउने प्रचलन बढेर जान्छ ।'
संसद्को ठूलो दल कांग्रेसकै प्रमुख सचेतकले अध्यादेश ल्याउने क्रम बढ्ने भनेपछि प्रमुख प्रतिपक्षी दल माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले प्रतिवाद गरेका थिए । सत्तारुढ दलहरूकै कारण संसदीय समितिबाट विधेयक पारित हुन नसकेको पाण्डेको भनाइ थियो । 'सत्तापक्षकै सांसदका कारणले समितिका बैठकले काम गर्न सकेनन् । बहुमत तपाईंहरूको छ । एकातिर सांसद समितिमा नआउने, अर्कोतिर अध्यादेश आउन सक्छ भन्ने ?,' पाण्डेले भनेका थिए । सबै संसदीय समितिमा कांग्रेस र एमालेका सांसदहरूको बहुमत रहेको उनले बताए । दुई दलका सांसदहरू समितिमा नआउदा गणपूरक संख्या नपुग्ने गरेको उनको भनाइ थियो ।
अध्यादेशले मुलुक चलाउनु राम्रो नभए पनि राज्य संचालनका लागि सरकारले अध्यादेश ल्याउने घिमिरेको भनाइ थियो । उनले संसद् र संसदीय समितिमा विधेयक कति समय राख्ने भन्ने समय सीमा राख्नुपर्ने पनि माग गरेका थिए । कानुन निर्माणमा ढिलाइ भएमा सरकार अझै अध्यादेश ल्याउनका लागि बाध्य हुने उनको भनाइ थियो ।
सरकारले अध्यादेश अझै ल्याउने भनेपछि एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणी चौधरीले सरकार ढल्न लागेकाले अध्यादेश ल्याउने कुरा भइरहेको हो ? भनेर प्रश्न गरेका थिए । 'माननीयज्यूले अझै अध्यादेश ल्याउने कुरा गर्नुभयो, के यो सरकार ढल्न लागेको हो ?,' चौधरीले भनेका थिए ।
