बीआरआई नेपालको बाह्य सम्बन्धमा कोशेढुंगा : एमाले उपमहासचिव ज्ञवाली

माघ १५, २०८१

गगनशिला खड्का

BRI is a milestone in Nepal's external relations: UML Deputy Secretary General Gyawali

गुल्मी — नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय मुद्दामा मुख्य दलहरू पहिलोपटक एकैठाउँमा उभिनु निकै महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् । बीआरआई सहकार्य फ्रेमवर्कका सन्दर्भमा सत्ता साझेदार नेकपा एमाले र काँग्रेसबीच भएको समझदारी नेपालको बाह्य सम्बन्ध सञ्चालनको कोशेढुंगा भएको बताए । 

‘हामीले बीआरआईलाई टुंग्याउन नेकपा एमाले र नेपाली कांग्रेसको बीचमा जुन महत्त्वपूर्ण समझदारी बनाउन सक्यौं, यो नेपालको बाह्य सम्बन्ध सञ्चालनको एउटा मेजर माइलस्टोन हो । किनभने नेपालको महत्त्वपूर्ण राष्ट्रिय मुद्दामा मुख्य दलहरूको बीचमा सहमति हुन हुन सकेको थिएन’, गृहजिल्ला गुल्मी आएका ज्ञवालीले मंगलबार प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा भने । 

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले महाकाली सन्धि र एमसीसी सम्झौताको प्रसंग उल्लेख गर्दै राजनीतिक दलहरूबीच समझदारी नबन्दा ती विषय गिजोलिएको समेत बताए ।  ‘महाकाली सन्धि हुँदा यस्तै विवाद भयो र नेकपा एमाले विभाजित नै भयो,’ उनले भने, ‘एमसीसीमा सुरुमा कांग्रेस र माओवादी सरकार हुँदा हस्ताक्षर भयो र पछि माओवादी साथीहरूले त्यसलाई गिजोल्नसम्म गिजोल्नुभयो । हामी झन्डैझन्डै ‘डिप्लोमेटिसक डिजास्टर’मा पर्‍यौं । त्यो पारित भयो तर धेरै गिजोलिएर मात्रै ।’  बीआरआईमा पनि कांग्रेस नेताहरूले गिजोल्ने प्रयास गरे पनि सरकारले दुई ठूला दलबीच संस्थागत समझदारी बनाउन महत्त्वपूर्ण काम गरेको उनको भनाए छ ।

उपमहासचिव ज्ञवालीले योसँगै सरकारले बाह्य सम्बन्धलाई अनुकूल बनाउन र राष्ट्रिय हितको संरक्षण गर्नका निम्ति महत्त्वपूर्ण कामको थालनी गरेको समेत बताए ।  सरकारले सहकारी क्षेत्रको बेथितीलाई अन्त्य गर्न ४ वटा तहमा काम गरिहेको बताउँदै ज्ञवालीले पहिलो चरणमा पीडितहरूको रकम फिर्ता गर्ने काम प्राथमिकताका साथ गरिरहेको बताए । ‘यस सिलसिलामा हालसम्म १४ हजार पीडितहरुको रकम, अधिकांशको पूर्ण र केहीको आंशिक फिर्ता गरेको छ’, उनले भने, ‘बाँकी पीडितहरूको रकम फिर्ता गर्न सरकार दृढतापूर्वक लागिपरेको छ । ’

सहकारीमा बचतकर्ताहरुको रकम हिनामिना गर्ने काममा संलग्न जोसुकैलाई सरकारले कारबाही अगाडि बढाएको भए पनि रास्वपाले त्यसलाई पूर्वाग्रह हो भनेर भाष्य निर्माण गर्न खोजेको र कानुन हातमा लिन खोजेको उनको भनाइ छ । ‘भोलिका दिनमा बचतकर्ताको रकम हिनामिना भयो भने बचत सुरक्षण कोष निर्माण गरेर त्यो कोषबाट शोधभर्ना गरेर सरकार लागि परेको छ,’ उनले भने । 

गगनशिला खड्का कान्तिपुरकी गुल्मी संवाददाता हुन् ।

Link copied successfully