निर्वाचन समितिले मतदानका लागि रातो मसी भएको कलम प्रयोग गर्ने सहमति गरे पनि मतपत्रमा कालो मसी प्रयोग भएको भेटिएपछि विवाद
काठमाडौँ — माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको गत शनिबार नेतृत्व चयनका लागि मतदान भए पनि मतगणना भने स्थगित भएको छ । संस्थापन र उपमहासचिव जनार्दन शर्मा पक्षबीच विवादका कारण आइतबारदेखि नै मतगणना रोकिएको हो ।
विवाद भएको २४ घण्टा बिते पनि निर्वाचन समितिले समाधान निकाल्न सकेको छैन । निर्वाचन समितिका प्रमुख वरिष्ठ अधिवक्ता मुक्ति प्रधान छन् ।
निर्वाचन समितिले मतदानका लागि रातो मसी भएको कलम प्रयोग गर्ने सहमति भए पनि मतपत्रमा कालो मसी प्रयोग भएको भेटिएपछि विवाद भएको हो । सात प्रदेशको मतगणना सकिए पनि उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको मतगणना रोकिएको छ । उपत्यका विशेषमा २६४ र विश्लविद्यालय प्रदेशमा २५८ मत खसेको थियो ।
अखिल (क्रान्तिकारी)मा संस्थापन र उपमहासचिव जनार्दन शर्मा पक्षबीच कडा प्रतिस्पर्धा छ । सात प्रदेशको मत परिणाम अनुसार संस्थापन पक्षका विजय सापकोटाले ४८५ र शर्मा पक्षका हेमन्त राईले ४६१ मत ल्याएका छन् ।
शर्मा पक्षका उम्मेदवारले मतपत्रमा कालो मसी प्रयोग गरी धाँधली गरेको आरोप लगाएको छ । उसले कालो मसी प्रयोग भएको मतपत्र रद्द हुनुपर्ने अडान लिएको छ ।
सोमबार बिहान विश्वविद्यालय प्रदेश समितिका निर्वाचन समितिका सदस्य अर्जुन अधिकारी र उपत्यका विशेष समितिका निर्वाचन समिति सदस्य जगत पाखरेलले दिउँसो १२ बजेबाट मत गणना सुचारु हुने भन्दै सूचना जारी गरेका थिए । तर शर्मा पक्षका उम्मेदवारले असहमति जनाएपछि मतगणना पुनः सुरु हुन सकेको छैन ।
माओवादी केन्द्रीय सदस्य एवं विद्यार्थी फ्याक्सन इन्चार्ज हिमाल शर्माले मतपत्रमा रातो मसी प्रयोग गर्न भनिएकामा केही मतपत्रमा कालो मसीले रेजा लगाइएको पाइएकाले मतगरणना रोकिएको बताए ।
‘सहमति गरी मतगणना गर्न छलफल भइरहेको छ,’ उनले भने, ‘मतपत्र घटीबढी भएको छैन । जति खसेको हो, उति नै छ । त्यहाँ प्रयोग भएको मसीको मात्रै विवाद हो ।’ उनले सहमति नभए पनि निर्वाचन समितिले प्रचलित विधिअनुसार मतगणना अघि बढाउने तयारी गरेको बताए । ‘विवाद भयो भनेर धेरै समय पर्खन सकिँदैन,’ उनले भने, ‘विधिअनुसार मतगणना गर्नुपर्ने हुन्छ ।’
गत असोजमा ३२ वर्षे उमेर हद लगाउने कि नलगाउने भन्नेमा विवाद हुँदा राष्ट्रिय सम्मेलन नै स्थगित भएको थियो । पुस १४ मा भएको निर्वाचनमा अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हद लगाउनुपर्ने पक्षमा बहुमत आएको थियो । त्यही मत परिणामअनुसार नेतृत्व लिन ३२ वर्ष उमेरमुनिका विद्यार्थी उम्मेदवार भएका थिए ।
अखिल क्रान्तिकारीको विधानअनुसार दुई सय ४३ सदस्य केन्द्रीय समितिमा एक अध्यक्ष, खुला ४, समावेशी ५ गरी ९ उपाध्यक्ष, एक महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्ष निर्वाचित हुनेछन् ।
