काठमाडौँ — जोगबनी-किमाथांका सडक 'ब्रेक थ्रु' देखि अछामको ढकारीमा २ किशोरीको शंकास्पद मृत्यु प्रकरणमा अहिलेसम्म ४ जना पक्राउ परेका समाचार कान्तिपुरमा सोमबार प्रकाशित भएका छन् ।
आज राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको चीन, नेपाल र भारत जोड्ने जोगबनी-किमाथांका सडक 'ब्रेक थ्रु' भएको छ । चीन र भारत जोड्ने खाँदबारी-किमाथांका सडक छिचोलिएपछि सञ्जालमा जोडिएको हो । नेपाली सेनाले चट्टानी भीर फुटाइसकेपछि कोशी राजमार्गअन्तर्गतको खाँदबारी-किमाथांका सडकको च्याम्तांग-घोङघोप्पा खण्डको साढे १० किलोमिटर सडक पूरा भएको हो ।
त्यस्तै अछामको ढकारी गाउँपालिका-८ का दुई जना किशोरीको शंकास्पद मृत्युको घटनामा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । अछाम प्रहरीका अनुसार सोमबार दिउँसो ढकारीकै थप दुई जनालाई पक्राउ गरिएको हो । यस घटनामा अछाम प्रहरीले अहिलेसम्म चार जनालाई नियन्त्रणमा लिइसकेको छ । १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको शव १५ मिटरको दूरीमा भेटिएको थियो ।
त्यस्तै पूर्वाधार विस्तारका कारण राति १० बजेदेखि बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबार (१९, माघ) देखि राति ११ बजेपछि बन्द भई बिहान ७ बजे खुला हुने भएको छ । अन्तर्राष्ट्रिय एप्रोन, समानान्तर ट्याक्सी, ह्यागंर निर्माण लगायतका पूर्वाधार विस्तारका कामका लागि धावनमार्ग नै बन्द गर्नुपर्ने भएपछि कार्तिक २३ गतेदेखि काठमाडौं विमानस्थलमा राति १० बजेदेखि उडानहरु बन्द गरेर निर्माण कार्य भइरहेका थिए ।
त्यसैगरी कांग्रेस संसदीय दलको बैठकमा मन्त्रीहरूको कडा आलोचना भएको समाचार पनि कान्तिपुरमा आज प्रकाशित छ । आइतबारदेखि जारी बैठकमा कांग्रेस सांसदहरूले आफ्नै पार्टीबाट मन्त्री बनेकाहरूको चर्को आलोचना गरेका हुन् । बैठकमा अध्यादेश ल्याउँदा जानकारीसमेत नदिइएको भन्दै मन्त्रीहरूको कार्यक्षमतामाथि सांसदहरूले प्रश्न उठाएका थिए । सांसदहरूले भने दुई ठूला दल मिलेर गठित सरकारले पनि अपेक्षाकृत काम गर्न नसकेको भन्दै प्रश्न उठाएका थिए ।
त्यसैगरी आजको प्रमुख अर्थ समाचारमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति शुद्धीकरणको 'ग्रे लिस्ट' बाट नेपाल तत्काल निस्कन सक्ने बताएको विषय छ । गभर्नर अधिकारीले जोखिमका ठाँउहरू पत्ता लगाएर जोखिम न्यूनीकरण गर्न सकिने बताएका छन् । उनले भनेका छन्, 'सबै एकसाथ काम गर्दा हामी चाँडै निस्कने अवस्था छ ।'
