कांग्रेस संसदीय दलमा मन्त्रीहरूको आलोचना : मन्त्रीमात्र मुस्कुराउने, सेवाग्राही रुँदै हिँड्ने अवस्था नआओस्

मन्त्रीहरूलाई सांसदसँग समन्वय गर्न देउवाको निर्देशन

माघ १४, २०८१

कान्तिपुर संवाददाता

Criticism of Ministers in Congress Parliamentary Party: Ministers should not be in a situation where only the ministers are smiling and the customers are crying

काठमाडौँ — पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई सांसदहरूसँग समन्वय गरेर अघि बढ्न कांग्रेस सभापति शेरबहादुर देउवाले निर्देशन दिएका छन् । संसदीय दलको सोमबार बसेको बैठकमा सांसदहरूले मन्त्रीहरूको कार्यक्षमतामाथि प्रश्न उठाएपछि सभापति देउवाले उक्त निर्देशन दिएका हुन् । 

सभापति देउवाले मन्त्रीहरूलाई आवश्यक समन्वय गरेर अघि बढ्न निर्देशन दिएको सांसद रामहरी खतिवडाले जानकारी दिए । उनका अनुसार बैठकमा सांसदहरूले अध्यादेश ल्याउँदा जानकारीसमेत नदिइएको भन्दै मन्त्रीहरूको कार्यक्षमतामाथि प्रश्न उठाएका थिए । 

सांसदहरूले भने दुई ठूला दल मिलेर गठित सरकारले पनि अपेक्षाकृत काम गर्न नसकेको भन्दै प्रश्न उठाएका थिए । सरकार असफल भए जनतामा निराशा छाउने भएकाले गम्भीर भएर अगाडि बढ्नुपर्ने धारणा सांसदहरूले राखेका थिए । ‘सांसदहरूले मन्त्रीहरूको कामको प्रभावकारिताको विषयमा केही कुरा राख्नुभएको छ । मुस्कानसहितको सेवा भन्ने एउटा भनाइ छ । मन्त्रीमात्र मुस्कुराउने तर सेवाग्राही रुँदै हिँड्ने अवस्था नआओस् भन्ने धेरै माननीयहरूको भनाइ छ,' खतिवडाले भने, 'सरकारले ल्याएको अध्यादेशको सवालमा केही सांसदहरूले सहमति छैन भन्ने कुरा गर्नुभएको छ । अध्यादेश आउनुभन्दा अगाडि सांसदहरूसँग छलफल गरिएन । यो कुरा ठीक भएन भनेर केही सांसदहरूले कुरा राख्नुभयो ।'

सांसदहरूले मन्त्री भएकाहरूको कार्यक्षमतामा प्रश्न उठाएको पनि खतिवडाले जानकारी दिए । 'विशेषगरी मन्त्रीहरूको कार्यदक्षता, क्षमता र जनताको सवालमा काम गर्नुस्, यदि मन्त्री पनि हुने काम पनि नगर्ने पद्धतिको विकास भयो भने पार्टी निराशामा जाने कुरा आएको छ । दुई ठूला पार्टी मिलेर बनेको सरकारले पनि जनताको आशाअनुसार काम गर्न सकेन भने जनतामा निराशा पैदा हुन्छ,' उनले भने, 'निराशा पैदा हुने कामको अन्त्य हुनुपर्छ । त्यसमा आफ्नो बलबुताले भ्याएसम्म गर्नुस् भन्ने कुरा भयो । सभापतिले मन्त्रीहरूलाई काम गर्ने बेलामा सांसदहरूसँग समन्वय गरेर अगाडि बढ्न निर्देशन दिनुभयो । यदी गल्ति भएको छ भने खुलेर राख्न सभापतिले भन्नुभएको छ ।’

सांसदहरूले गम्भीर प्रश्न उठाएपछि मन्त्री रहेकाहरूसँग जवाफ संसदीय दलकै बैठकमा राख्नुपर्नेछ । मन्त्रीहरूले सांसदका प्रश्न जवाफ दिन बाँकी रहेकाले माघ १८ गते फेरि संसदीय दलको बैठक बोलाउने निर्णय भएको पनि खतिवडाले जानकारी दिए । 

कान्तिपुर संवाददाता

Link copied successfully