पाथीभरा केबलकार विवाद वार्ताबाटै टुंग्याउनुपर्छ : अध्यक्ष दाहाल

माघ १४, २०८१

लक्ष्मी गौतम

The Pathibhara cable car dispute should be resolved through negotiations: President Dahal

पाँचथर — माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिरमा केबलकार निर्माणका सन्दर्भमा भइरहेको विवाद वार्ता र संवाद माध्यमबाटै टुंग्याउनुपर्ने बताएका छन् ।

तेह्रथुमको आठराई गाउँपालिका-३ ह्वाकुमा निर्मित बगाले सहिद स्मृति पार्कको सोमबार उद्‍घाटनमा उनले केही दिनअघि केबलकार बनाउने र नबनाउने सन्दर्भमा विवाद हुँदा गोली चलेको घटना सुन्दा आफूलाई दुःख लागेको भन्दै घटना दोहोरिन नदिन सरकार बढी जिम्मेवार हुनुपर्ने बताए ।

‘पछिल्लो चोटि म प्रधानमन्त्री भएका बखत बालुवाटारमा केबलकार बनाउने/नबनाउने विषयको विवादमा पटक-पटक डेलिगेसन आइरहेका थिए, द्वन्द्व नहोस्, वार्ताबाटै समस्या समाधान गर्नुपर्छ रोकिरहेका थिएँ, म सरकारबाट हटेपछि द्वन्द चर्किएको छ, अझै पनि वार्ता र संवादबाटै समस्या समाधान गर्न भूमिका खेल्नेछु,’ उनले भने ।

संसद्‍मा छलफल चलाएर वा सरकारसँग संवाद गरेर भए पनि समस्या समाधानका लागि पहल गर्ने उनले प्रतिबद्वता जनाए । बगाले सहिद स्मृति पार्क सशस्त्र द्वन्दका समयमा २०५८ माघ १४ गते सरकार पक्षबाट मारिएका २१ माओवादी कार्यकर्ता र सर्वसाधारणको स्मृतिमा निर्माण गरिएको हो ।

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully