वर्षमानलाई लिएर तेह्रथुम उडे दाहाल, ओलीको गाउँमा दुई दिनसम्म यस्ता छन् कार्यक्रम

माघ १४, २०८१

कान्तिपुर संवाददाता

Tehrathum Ude Dahal, Oli's village has such programs for two days with Varshaman

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सोमबार तेह्रथुम जाँदैछन् । उपमहासचिव वर्षमान पुनलाई साथ लिएर सोमबार बिहान सैनिक हेलिकप्टरमार्फत् उनी त्यसतर्फ गएका हुन् । सोमबार उनले लालीगुराँस नगरपालिका–७ लसुनेस्थित शहीद धनरुपा पार्कको उद्‌घाटन गर्ने कार्यक्रम रहेको छ ।

 त्यसपछि आजै उनी तेह्रथुमको आठराई गाउँपालिका जानेछन् । आठराई वर्तमान प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको जन्मथलोसमेत हो । आठराईमा अध्यक्ष दाहालले बगाले सहिद स्मृति पार्क र जनयुद्ध तथा शान्ति संग्रहालय भवनको शिलान्यास गर्ने कार्यक्रम छ । हाल आठराई गाउँपालिका-३, तत्कालीन ह्वाकु गाउँ विकास समितिमा पर्ने बगालेमा २०५८ माघ १४ गते आजकै दिन सुरक्षाकर्मीको गोली लागी १८ माओवादी सेनाका लडाकु र ३ सर्वसाधारण सामूहिक रुपमा मारिएका थिए ।

पाँचथरको गोपेटार प्रहरी चौकी आक्रणका क्रममा घाइते भएका निशस्त्र लडाकुहरु उपचार गराइरहेको स्थानमा सेनाले घेराहाली गोली चलाएको थियो । सोही सन्दर्भमा दाहाल सोमबार त्यहाँ आयोजित कार्यक्रमहरूमा सहभागी हुन लागेका हुन् ।

सोमबार दुई कार्यक्रममा सहभागी भएपछि बेलुका चुहानडाँडा बजारमा बस्नेछन् । उनी त्यहाँ रहँदा खाम्लालुङमा रहेको झाँक्री गुफा समेत अवलोकन गर्ने कार्यक्रम रहेको माओवादी नेता रघु गौतमले जानकारी दिए । 

Tehrathum Ude Dahal, Oli's village has such programs for two days with Varshaman

मंगलबार बिहान आठराई गाउँपालिका–६ मा पार्टी कार्यकर्ता, स्थानीय तथा स्वर्गीय माओवादी नेता भक्तराज कन्दङवाका परिवारसँग भेटघाट गर्ने र कन्दङवाको शालीक अनावरण गर्ने कार्यक्रम छ । दिउँसो तेह्रथुम बहुमुखी क्याम्पसको सभाहलमा पार्टीको तेह्रथुम जिल्ला स्तरीय कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएर उनी काठमाडौं फर्किने उनको सचिवालयले जनाएको छ । 

तेह्रथुमलाई लिएर दाहालको एउटा रोचक प्रसंग समेत छ । उनी करिअरको सुरुवातमै हुँदा तेह्रथुम पुगेका थिए, चुहानडाँडाको शारदा माध्यमिक विद्यालयको शिक्षककारुपमा । तर शिक्षक नियुक्त भएर कार्यक्षेत्रमा जान सदरमुकाम म्याङलुङ पुगेका उनी चुहानडाँडा धेरै टाढा र विकट भएको थाहा पाएपछि त्यहाँ जागिर नखाने निर्णय गरेर फर्किएका थिए । 

कान्तिपुर

Link copied successfully