रास्वपा उपनेता श्रेष्ठले बोलाए संसदीय दलको बैठक

माघ १४, २०८१

कान्तिपुर संवाददाता

Raswap deputy leader Shrestha called a meeting of the parliamentary party

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले संसदीय दलको बैठक बोलाएका छन् । पार्टी सभापति तथा संसदीय दलका नेता रवि लामिछाने निलम्बनमा परेकाले उपनेता श्रेष्ठले दलको बैठक आह्वान गरेका हुन् । 

उपनेता श्रेष्ठका अनुसार दलको बैठक माघ १६ गते बिहान ११ बजे बोलाएका हुन् । सभापति लामिछानेसँगकै परामर्शमा बैठक आह्वान गरिएको उनले बताए । 'पार्टी विधानको दफा १३ (१) बमोजिम १६ माघ बिहान ११ बजे बस्ने गरी दलको बैठक बोलाइएको छ,' उनले भने । 

दलका नेता लामिछाने सांसद पदबाट निलम्बित भएपछि उपनेता श्रेष्ठले पहिलोपटक विधानअनुसार कार्यकारी अधिकार प्रयोग गर्दै दलको बैठक बोलाएका हुन् ।

संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा संसद्को आगामी अधिवेशन तयारीका सम्बन्धमा छलफल हुने श्रेष्ठले जानकारी दिए । 

संसदीय दलको बैठकमा समसामयिक जनसरोकारका विषय, रास्वपाले उठाउनुपर्ने मुद्दाको टुंगो लाग्ने श्रेष्ठले बताए । ‘अध्यादेशको विषय उठाउँछौं । अध्यादेश अध्ययन गर्न कार्यदल बनाएर छलफल गर्दैछौं,’ उनले भने, ‘सरकार गठन र ढाल्ने कुरामा जोडिएको नयाँ स्टक लाइसेन्सलगायतका विषय पनि छन् । अदालत र संसद् छलेर ल्याएको यो विषय पनि सशक्त उठाउँछौं ।’

यो विषयमा संसदीय समितिमै आफूहरुले नोट अफ डिसेन्ट राखेको श्रेष्ठले बताए । संसद्मा उठाउनुपर्ने बेथितिका विषय पनि प्रमुख रहेको बताउँदै उनले ती विषयमा विपक्षी दलहरूसँग परामर्श भइरहेको र विपक्षी बेन्चबाट साझा रुपमा प्रस्तुत हुने बताए । 

कान्तिपुर संवाददाता

Link copied successfully