सम्पत्ति शुद्धीकरण निवारणका लागि अनुसन्धान र अभियोजनको कामलाई तीव्रता दिन जरुरी : अर्थमन्त्री पौडेल

माघ १४, २०८१

कान्तिपुर संवाददाता

It is necessary to speed up investigation and prosecution work to prevent money laundering: Finance Minister Paudel

काठमाडौँ — उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्पत्ति शुद्धीकरण निवारणका लागि सम्बन्धित निकायहरूले अनुसन्धान र अभियोजनको कामलाई तीव्रता दिन जरुरी  रहेको बताएका छन् । 

सोमबार सम्पत्ति शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस, २०८१ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले वित्तीय अपराध न्युनिकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायहरुले समन्वयात्मक रूपमा काम गरी अनुसन्धान र अभियोजनलाई प्राथमिकताका साथ काम गर्न आवश्यक रहेको बताएका हुन् ।

अर्थमन्त्री पौडेलले आगामी दिनमा अन्तर्राष्ट्रिय संस्थाहरूले बनाएको मापदण्ड परिपालना र आफैले निर्माण गरेको कानुन र नियमावलीहरुको कार्यान्वयनमा उत्कृष्ट हुनुपर्नेमा जोड दिए । 'अनुसन्धान अभियोजनको कामलाई तिब्रता दिन जरुरी छ । निर्दोष दण्डित हुँदैन । दोषीले पनि उन्मुक्ति पाउँदैन भन्ने मानक स्थापित गर्न सक्नुपर्छ ।  सम्पत्ति शुद्धीकरणमा दोषी भएका जो कसैलाई दण्डित गर्छ । निर्दोष कसैले पनि भयवित हुनुपर्दैन,' उनले भने ।  

अर्थमन्त्री पौडेलले सम्पत्ति शुद्धीकरणको समस्या नेपालको मात्रै नभएर विश्वकै भएको उल्लेख गरे । उनले धेरै मुलुकहरू यो समस्याबाट बाहिर आउन, समाधान गरी वित्तीय स्वच्छता र सुशासन कायम गर्ने प्रयासमा रहेको बताए । उनले नेपाल सरकारले पनि आवश्यक कानुन निर्माण केही प्रयास गरिरहेको बताए ।

कान्तिपुर

Link copied successfully