शुक्रबार बाख्रा चराउन घरबाट निस्किएका दुवैको शव शनिबार क्षतविक्षत अवस्थामा फेला, तालिम प्राप्त कुकुर परिचालन गरेर अनुसन्धान गर्दै प्रहरी
ढकारी, अछाम — अछाममा एकाघरका दुई किशोरीको ‘शंकास्पद’ मृत्युको घटनामा प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेर अनुसन्धान थालेको छ ।
शनिबार ढकारी गाउँपालिका–१ छिन्ने जंगलमा ढकारी–८ पल्साताकी १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया इशरा खड्का मृत फेला परेका थिए । नातामा फुपू र भदै पर्ने उनीहरू बाख्रा चराउन शुक्रबार घरबाट निस्किएका थिए । त्यसपछि नफर्किएका दुवैको शव शनिबार अपराह्न ४ बजे स्थानीयले फेला पारेका थिए ।
विद्या प्रबोधनी मावि घोडासैनमा कक्षा ८ मा पढ्ने दुवै जना विद्यालयदेखि मेलापात र घरको काममा सँगै हुन्थे । राष्ट्रपति रनिङ सिल्डका लागि बिहीबारदेखि विद्यालयमा खेलाडी छनोट सुरु भएको थियो । सरस्वतीले कबड्डी खेलमा भाग लिएकी थिइन् । छनोट खेल्ने क्रममा खुट्टामा चोट लागेपछि उनी खेलबाट बाहिरिइन् ।
इशराकी भाउजू कृष्णाका अनुसार विद्यालयमा छनोट खेल चलिरहेकाले शुक्रबार नियमित पठनपाठन भएको थिएन । पढाइ नहुने भएपछि फुपू–भदै बेंसी झरेका थिए । ‘हिउँदमा खेतीपातीको काम औल (बेंसी) मा हुने भएकाले हामी तल छानामा सर्छौं । नानीहरू पनि स्कुल नभएकाले काम सघाउन तल झरेका थिए,’ उनले भनिन्, ‘शुक्रबार दिउँसो खाना खाएर सधैं गइराख्ने जंगलमा गए । साँझ बाख्रा आइसकेका थिए, उनीहरू अबेरसम्म आएनन् ।’
कृष्णाका अनुसार परिवारजनले छिमेकी गाउँमा खोजी गर्दा पनि दुवै जना भेटिएनन् । त्यसपछि गाउँमा दुवै जनाले भागेर बिहे गरेको हल्ला चल्यो । ‘यस्तो घटना भयो होला भन्नेतर्फ सोच्दै सोचेनौं,’ उनले भनिन् । स्थानीय टेकबहादुर बुढ्थापा लगायतको समूहले शनिबार साँझ मात्रै घोडासैन गाउँबाट करिब ४ घण्टा तलको जंगलमा सरस्वती र इशराको शव देखेको थियो ।
‘हामी शनिबार रवा खोलामा माछा मार्न जाँदै थियौं । इशराको शव फेला परेको ठाउँमा अघिल्लो दिन मात्रै मैले तरुल कोरेको (खनेको) थिएँ,’ टेकबहादुरले भने, ‘४० केजी जति तरुल कोरेको ठाउँ यही हो भनेर अरू साथीलाई देखाउँदै थिएँ । राता लुगा देखिएपछि के रहेछ भनेर सोही ठाउँमा जाँदा टाउको फुटेको र शरीरभरि रगत लागेको अवस्थामा शव देख्यौं ।’ शव चिन्न नसकेपछि गाउँमा खबर गरेको उनले बताए । गाउँले आएर अलि माथिसम्म हेर्दा अर्को शव पनि भेटिएको उनले सुनाए ।
घटनापछि इशराकी आमा कला र सरस्वतीकी आमा तारा सम्हालिन सकेका छैनन् । खड्का परिवार दुवै छोरीको मृत्युलाई दुर्घटना स्वीकार्न तयार छैन । लडेको वा ढुंगा लागेर घटना नभएको, दुवै जनाको योजनाबद्ध हत्या भएको मृतकका आफन्तको दाबी छ । ‘यो योजनाबद्ध तरिकाले गरिएको हत्या हो,’ सरस्वतीकी भाउजू मैसरादेवीले भनिन्, ‘हामीलाई शंका लागेकामाथि अनुसन्धान गरिनुपर्छ ।’
किशोरीलाई सधैं फोन गर्ने र घटनाको दिन जंगलमा गएर भेटेका युवकको नाममा किटानी जाहेरी दिने तयारी गरिरहेको ढकारी–८ का पूर्ववडाध्यक्ष लालबहादुर भण्डारीले बताए । ‘दुवैको टाउको फुटेको छ । हत्या हो भनेर शंका गर्ने धेरै आधार छन्,’ भण्डारीले भने, ‘दुवै जनाका बुवा भारतमा छन् । उनीहरू पनि आउँदै छन् । किटानी जाहेरी दिने तयारी छ ।’
इशराको भन्दा सरस्वतीको शव १५ मिटर माथि फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शव भेटिएको छेउमा माथिबाट ढुंगा खसेको जस्तो देखिएकाले दुर्घटना भएको आशंका गरे पनि अनुसन्धान भइरहेको छ । दुवैको शरीरमा चोटपटक देखिएको अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले बताए । उनीहरूका मोबाइललगायत अन्य प्रमाणबाट अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
‘टाउकोमा चोट छ । अनुसन्धान भइरहेको छ । अहिले नै के कसरी भएको हो भन्न सकिने अवस्था छैन । प्रमाणहरू संकलन हुँदै छन्,’ उनले भने । शव पोस्टमार्टमका लागि आइतबार साँझ जिल्ला अस्पताल मंगलसेनमा पुर्याइएको उनले बताए । घटनास्थल पुगेका अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले कोहलपुरको केनाइन शाखाबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान थालिएको जानकारी दिए ।
