काठमाडौँ — सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेलाई १ करोड धरौटीमा छोड्न आदेश, नेपालबाट पौने २ अर्बको छुर्पी निर्यातदेखि पाथीभरा झडपपछि मंगलबारदेखि थप आन्दोलन गर्ने घोषणासम्मका समाचार आज चर्चामा रहे
०००
रास्वपा सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई अदालतले १ करोड रुपैयाँ धरौटी माग गरेको छ । आइतबार भएको प्रतिवादी वकिलको बहस, जाहेरवाला र सरकारी वकिलको जवाफी बहस सुनेपछि जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीले १ करोड रुपैयाँ धरौटी माग गर्ने आदेश गरेका हुन् ।
०००
चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ८० करोड ६१ लाख ३९ हजार रुपैयाँको छुर्पी निर्यात भएको छ । भन्सार विभागका अनुसार ९ लाख ६३ हजार ९२७ किलो छुर्पी निर्यात भएको हो । गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षमा छुर्पी निर्यात बढेको विभागको तथ्यांक छ । गत आर्थिक वर्षको साउनदेखि पुससम्म १ अर्ब ४१ करोड २९ लाख रुपैयाँको छुर्पी निर्यात भएको थियो ।
०००
साइबर सुरक्षा प्रवर्द्धनका लागि सरकारले स्थापना गरेको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी कार्यालयका कम्प्युटर वा ल्यापटपमा कुनै पनि गेम इन्स्टल नगर्न सुझाव दिएको छ । केन्द्रले जारी गरेको साइबर सुरक्षासम्बन्धी एड्भाइजरीमा कर्मचारीहरूलाई कार्यालयका डिभाइसमा गेम इन्स्टल नगर्न र नखेल्न भनिएको हो ।
०००
मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संयुक्त संघर्ष समिति लगायतका पाँचवटा संस्थाले माघ १५ गते मंगलबारदेखि मेची राजमार्ग र तमोर करिडोरमा अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् ।
०००
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा क्षेत्रबाट प्यालेस्टिनीहरूलाई हटाउने तयारी गरिरहेको बताएका छन् । राष्ट्रपति ट्रम्पले प्यालेस्टाइनीहरूलाई गाजाबाट इजिप्ट र जोर्डन पठाउन चाहेको बताएका हुन् । गाजा 'ध्वस्त स्थल' भएकाले उनीहरूलाई त्यहाँबाट अन्यत्र सार्नुपर्ने उनको भनाइ छ । उनीहरूलाई 'अस्थायी' वा 'दीर्घकालीन' रूपमै इजिप्ट र जोर्डनमा राख्न सकिने उनको भनाइ छ ।
