पाथीभरा झडप : मंगलबारदेखि थप आन्दाेलन गर्ने घोषणा  

माघ १३, २०८१

आनन्द गौतम

Pathibhara clash: Announcement of further agitation from Tuesday

ताप्लेजुङ — मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संयुक्त संघर्ष समिति लगायतका पाँचवटा संस्थाले माघ १५ गते मंगलबारदेखि मेची राजमार्ग र तमोर करिडोरमा अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । 

पाथीभरामा शनिबार भएको झडपको विरोध, केबलकार निर्माण कम्पनी फिर्ता लगायतको माग राख्दै प्रदेश नम्बर १ पुन: नामांकन संयुक्त संघर्ष समिति, थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूह र किरात धर्म तथा साहित्य उत्थान संघले संयुक्त विज्ञप्ति प्रकाशित गरी बन्दको आह्वान गरेका हुन् । 

सात बुँदे आन्दोलनको कार्यक्रममा उनीहरुले मेची राजमार्ग, तमोर करिडोर र तेहृथुमबाट ताप्लेजुङतर्फ छिर्ने नाकाहरुमा अनिश्चितकालीन यातायात बन्दको आह्वान गरेका हुन् । 

चन्द्र ढकालले सञ्चालन गरेको आइएमई बैंकको खाता बन्द गर्न आह्वान गरेका छन्‌ भने माघ १४ गते बैंकको अगाडि शान्तिपूर्ण धर्ना दिने बताएका छन् । ताप्लेजुङ, पाँचथर, इलाम, तेहृथुम, धनकुटा, झापा, मोरङ, सुनसरीको ग्लोबल आइएमई बैंक बन्द गर्नुपर्ने माग पनि राखेका छन् । 

चन्द्र ढकाल र उनका कार्यकर्ता रुद्र पौडेललाई ताप्लेजुङ प्रवेश निषेध गर्ने, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनलाई जिल्ला बाहिर प्रवेश निषेध गर्ने, पाथीभरा क्षेत्र विकास समिति खारेज गर्नुपर्ने, ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरी प्रमुखले माफी माग्नुपर्ने र कारबाही गर्नुपर्ने तथा राज्य आतंक प्रहरी दमन केबलकार निर्माण खारेजीका विषयमा कोणसभा गर्ने उल्लेख छ । 

शनिबार ‘नो केबलकार समूह’ र प्रहरीबीच दुई पटक झडप भएको थियो । झडपका क्रममा गम्भीर घाइते तीन जनालाई उपचारका लागि काठमाडौं पुर्‍याइएको छ । जिल्ला अस्पताल ताप्लेजुङमा प्राथमिक उपचारपछि शनिबार राति स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सहितको टोलीले नोबेल अस्पताल पुर्‍याएको थियो । नोबेलबाट नेपाली सेनाको वायुयानबाट काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।  

तेह्रथुमको म्याङलुङ नगरपालिकाका यामबहादुर लिम्बु, पाँचथरको मिक्लाजुङ-५ का सगुन लावती र फुङलिङ-८ दोखुका धर्मेन्द्र पालुङ्वालाई उपचारका लागि लगिएको छ । लिम्बु र लावतीलाई गोली लागेको छ । लावतीको खुट्टामा र लिम्बुको कोखमा गोली लागेको जनाइएको छ । पालुङ्वाको भने कुममा चोट लागेको अस्पतालले जनाएको छ । 

झडपका क्रममा घाइते मेरिङदेन गाउँपालिकाका विशाल श्रेङ लिम्बु र पाँचथरको मिक्लाजुङ-५ का मंगल लावती उपचारपछि ताप्लेजुङ अस्पतालबाटै फर्किएका छन् । 

नेपाल प्रहरीका इन्स्पेक्टर रोहित शर्मासहित जवानसम्मका १२ र सशस्त्र प्रहरीका ९ जना घाइते भएको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए । दुवै पक्षले आफ्नो कारणले झडप नभएको दाबी गरेका छन् । 

आन्दोलनकारीले ढुंगामुढा गरेर गुलेली हानेपछि गोली हान्न बाध्य भएको प्रशासनले जनाएको छ भने नो केबलकार समूहले शान्तिपूर्ण आन्दोलनको तयारी गरिरहँदा प्रहरीले अन्धाधुन्ध आक्रमण गरेको दाबी गरेको छ । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully