काठमाडौँ — नेकपा एकता राष्ट्रिय अभियानका संयोजक तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमको एमाले फिर्ती अनिश्चित बनेको छ । गत मंगलबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले गौतमलाई पार्टीमा भित्र्याउन सैद्धान्तिक सहमति भए पनि हतार गर्न नहुने निष्कर्ष निकालेको हो ।
सचिवालयले ‘गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने’ निर्णय गरेको थियो । तर, उनले पाउने पद भने टुंगो लगाएको छैन । गौतमसँग वार्ता गरेका एमाले महासचिव शंकर पोखरेलले पनि तत्काल सहकार्य मात्र हुने बताए । ‘वामदेवजी एमाले प्रवेश गर्ने कुरा छैन,’ उनले भने, ‘अहिले सहकार्य गर्ने निर्णय मात्र गरेका छौं ।’
गौतमले भने गत आइतबार कान्तिपुरसँगको कुराकानीमा सम्मानजनक जिम्मेवारीका साथ ‘नमरुन्जेल काम गर्न एमालेमा फर्कन लागेको’ बताएका थिए । एकीकृत समाजवादीसँग कुरा नमिलेपछि गौतम र उनको टिमले एमाले प्रवेश गर्ने तयारी गरेको थियो । तर एमाले सचिवालयको निर्णयपछि गौतमको टिम अन्योलमा परेको छ ।
गौतमले एमालेमा आउन तीव्र चाहना गरेकाले ढोका खुला राखेको एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताए । एमालेको विधानले व्यवस्था गरेअनुरूप पार्टीमा पद व्यवस्था भएको उल्लेख गर्दै पोखरेलले भदौमा हुने विधान महाधिवेशनले मात्र नयाँ पद सिर्जना गर्न सक्ने बताए । ‘विधानअनुसार अहिले नै तुरुन्त पद सिर्जना गर्ने अवस्था हुँदैन,’ उनले भने, ‘विधानले व्यवस्था गरेअनुसार पार्टीमा पद र जिम्मेवारी हुन्छ ।’
गौतम निकट नेता डीबी कार्कीले एमालेसँग ‘सहकार्य’ गर्ने सम्बन्धमा धारणा मागेको बताए । ‘एमालेसँग कसरी सहकार्य गर्ने हो ? एकता नै गर्ने सहमति भएपछि फेरि सहकार्यको कुरा किन आयो ?’ उनले भने, ‘अलमल्याउने कुरा गर्न भएन भनेका छौं ।’ उनले सहकार्य गर्दै छिट्टै एकता हुने विश्वास व्यक्त गरे ।
२०७७ फागुन २३ मा सर्वोच्च अदालतले एमाले र माओवादी एकतालाई खारेज गर्ने फैसला गरेपछि गौतम कतै नलागी अलग बसेका थिए । उनी कम्युनिस्ट एकता अभियान गठन गरी सानो समूहमा रहेका थिए ।
‘बोलाएको दिन एमालेमा प्रवेश गर्ने’ बताएका गौतम नेकपा विभाजनपछि एमाले अध्यक्ष ओलीले चासो नदिएपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग नजिकिएका थिए । एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारी भए पनि अन्तिम समयमा गौतमले ‘कार्यकारी जिम्मेवारी’ मागेपछि सहमति हुन सकेन ।
७७ वर्षीय गौतम एमालेमा प्रवेश गर्दा उनको पुरानो विरासत ब्युँतिने सम्भावना नभए पनि ठूलो दलको नेताका रूपमा परिचय गराउने धोको हुन सक्छ । प्रतिनिधिसभा र राष्ट्रिय सभा गरी सात पटक सांसद भएका उनी तीन पटक त उपप्रधान एवं गृहमन्त्री भइसकेका छन् ।
एमाले र माओवादीबीच एकता भएर बनेको नेकपाका दुई अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच चरम शक्ति संघर्ष भएका बेला गौतम दाहाल पक्षमा लागेका थिए । तत्कालीन नेकपा सरकार (केपी शर्मा ओली मन्त्रिपरिषद्) को सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई २०७७ असोजमा राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी थिइन् ।
