सरकार फेरिन सक्छ तर विकासमा नीतिगत निरन्तरता चाहिन्छ : पुन

माघ १३, २०८१

कान्तिपुर संवाददाता

Government may change but policy continuity is needed in development: Re

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल माओवादीका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले विकास पूर्वाधार र तीव्र आर्थिक विकासका लागि नीतिगत निरन्तरता हुनुपर्ने बताएका छन् । उनले राजनीतिक नेतृत्व फेरबदल हुँदैमा विकास र आर्थिक नीतिमा परिवर्तन हुन नहुने बताए ।

काठमाडौंमा माओवादीको अर्थ तथा योजना विभागले आयोजना गरेको कार्यक्रममा पुनले नेपालमा सरकार परिवर्तन हुन सक्ने तर विकास नीतिमा फेरबदल गर्न नहुने धारणा राखेका थिए । ‘हाम्रोजस्तो मिश्रित निर्वाचन प्रणाली भएको मुलुकमा सरकार फेरिरहन सक्छ तर नीतिगत निरन्तरता भयो भने रिजल्ट आउँछ,’ उनले भने । 

नीतिगत निरन्तरताकै कारण ऊर्जा र सिमेन्ट उद्योगमा नेपाल आत्मनिर्भर मात्र नभई क्षेत्रीय बजारमा समेत उपस्थिति जनाउन सफल भएको पुनको भनाइ थियो । ‘१८ घण्टा लोडसेडिङ हुने अवस्थाबाट हामी अहिले बढी भएको बिजुली क्षेत्रीय बजार (भारत–बंगलादेश) मा निर्यात गर्ने अवस्थामा पुगेका छौं,' उनले भने, 'आन्तरिम उत्पादनले १५ प्रतिशत मात्र धानिरहेको नेपाली सिमेन्ट उद्योग अहिले आत्मनिर्भर भएर भारतीय बजारमा आफ्नो हिस्सा लिन सफल भएको छ ।’

पुनले विकास आयोजनामा ढिलाइ हुनुमा सरकारलाई मात्र दोष दिनु गलत हुने बताए । उनले विकासका लागि संसद्, कर्मचारीतन्त्र, निर्माण व्यवसायी, नियामक निकाय, न्यायलय, सञ्चार माध्यम, विकास सम्बद्ध सरकारी एजेन्सी र आमजनता विकासमैत्री हुनुपर्नेमा जोड दिए ।   

कान्तिपुर संवाददाता

Link copied successfully