काठमाडौँ — नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय लगायतका अन्य विश्वविद्यालय अन्तर्गतका विभिन्न संकाय, विभाग, क्याम्पस लगायतका निकायमा दलीय भागबण्डाको आधारमा डीन, निर्देशक, सहपरीक्षा नियन्त्रक र क्याम्पस प्रमुखहरू नियुक्त भएको विषयप्रति आपत्ति जनाएको छ ।
शुक्रबार नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले एक विज्ञप्ति जारी गर्दै विश्वविद्यालयहरूमा भएको राजनीतिक भागबण्डा स्वीकार्य नभएको बताए ।
'नेविसंघको निरन्तरको आन्दोलन र अभियानको जगमा योग्यता प्रणालीमा आधारित खुला प्रतिस्पर्धामार्फत विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्न विभिन्न कार्यविधि, मापदण्ड, नियमहरू तर्जुमा एवं संशोधन भएको तथ्यमा कुनै विवाद छैन । तर उक्त कानूनको छिद्रहरूबाट आफ्नो दलीय स्वार्थ पूरा गर्ने परिपाटी अझै अन्त्य नभएको यथार्थ सामुन्ने आएको छ,' उनले भनेका छन्, 'विद्यार्थी आन्दोलनको मर्म र उपलब्धि विपरित भइरहेका यी विषयहरू तत्काल नरोकिए नेविसंघ पुनः सशक्त निर्णायक आन्दोलनमा होमिन बाध्य हुनेछ ।'
उनले परिवर्तनको ऊर्जाले मात्रै विश्वविद्यालयहरू समयानुकूल परिस्कृत हुने भन्दै पुरातनवादी सोचले समस्या समाधान नहुने दाबी गरेका छन् । 'प्रतिस्पर्धाको नाममा राज्यको ढुकुटी लुटाउँदै अस्वच्छ र अपारदर्शी विधि अवलम्बन गरी नियुक्त हुने, नियुक्त गर्ने र निम्न स्तरको स्वेच्छाचारी कार्यविधि निर्माण गर्नेहरूबाट कदापी विश्वविद्यालयहरूको गुणात्मक रूपान्तरण हुदैन । तसर्थ विश्वविद्यालयका सम्पूर्ण प्राध्यापक, शिक्षक, कर्मचारी र विद्यार्थीहरू एकजुट भएर प्राज्ञिक नेतृत्वको लागी पहल गर्न नेपाल विद्यार्थी संघ हार्दिक आह्वान समेत गर्दछ,' विज्ञप्तिमा उल्लेख छ ।
