जनताले गणतन्त्रको अनुभूति गर्न पाएनन् : चन्द

माघ १२, २०८१

शंकर आचार्य

The people did not get to feel the republic: Chand

पर्सा — नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपालको राजनीति हाल आकाशमा उडिरहेकाले यसलाई धर्तीमा ल्याउन जरुरी रहेको बताएका छन् । 

शनिबार वीरगन्जमा आयोजित ‘सिजन–सुदर्शन’ स्मृति ग्रन्थ लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘नेपालको राजनीति अहिले आकाशमा उडिरहेको छ, ठूला ठूला नभएका कुरा गरेर जनतालाई आशा देखाइँदै छ,’ उनले भने, ‘जनतासँग दुई छाक खाने हैसियत छैन, त्यसैले नेपालको राजनीतिलाई धर्तीमा खुट्टा टेकाउन जरुरी छ ।’ 

नेपालमा गणतन्त्र आए पनि त्यो जनताको गणतन्त्र बन्न नसकेको गुनासो गर्दै उनले आज पनि नेपाली जनताले गणतन्त्रको अनुभूति गर्न नपाएको बताए । ‘यो गणतन्त्रबाट जनताले आफ्नो जीवनमा नयाँपन आएको अनुभूति गर्न पाएका छैनन्,’ उनले भने, ‘हेपिएकाहरु हेपिएकै छन्, उत्पीडितहरु उत्पीडित नै छन्, गरिब गरिब नै छन्, हिजो सामन्तीको रजगज थियो, आज दलाल पुँजीवादीको रजगज छ ।’ 

देशको आधाभन्दा बढी सम्पत्ति १०/१२ प्रतिशत धनीको हातमा रहेको भन्दै उनले बैंकमा पैसा थुप्रिँदै गएको तर अर्कोतिर गरिब निमुखा जनताको हात खाली रहेको टिप्पणी गरे । हाल पनि सीमित वर्गकै हातमा कानुन, प्रशासन र अर्थतन्त्र रहेको उनले बताए । 

देशको राजनीति हाल भाषण, गफ, चाकरी र अरुलाई खुसी पार्नमा सीमित हुँदै गएको भन्दै चन्दले राजनीति जनताको जीवन परिवर्तन गर्ने साधन बन्न नसकेको बताए । हालको परिस्थिति सिर्जना हुनुमा सबैभन्दा ठूलो गल्ती माओवादी आन्दोलनले नै गरेको आरोप लगाउँदै उनले भने, ‘हामीलाई जनताले तेस्रो साथ दिए, तैपनि हामी चुक्यौं, हामी काठमाडौं प्रवेश गरेपछि जनयुद्धको भावनाअनुरुप आफूलाई बदल्न सकेनौं ।’ 

जनतामा अझै पनि आफूहरुले फेरि बन्दुक बोक्ने हो कि भन्ने त्रास रहेको बताउँदै उनले तत्कालै आफूहरुले बन्दुक बोक्ने योजना नरहेको प्रस्ट पारे । ‘जुन दिन जनताको आवाज बन्दुकबाट दबाइन्छ, त्यस दिन हामी फेरि बन्दुक बोक्छौं,’ उनले भने ।  

यसअघि उनले ‘सिजन–सुदर्शन’ स्मृति ग्रन्थको लोकार्पणसमेत गरेका थिए । सिजनको द्वन्द्वकालमा सुरक्षाफौजको आक्रमणमा परी मृत्यु भएको थियो भने उनका बुवा सञ्चारकर्मी सुदर्शनराज पाण्डेको यसै वर्षको भदौमा महिनामा मृत्यु भएको थियो ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully