काठमाडौँ — नेपाल सुन्दर मात्र होइन, सुरक्षित पनि छ भनेर चिनाउन सकेमात्र पर्यटन क्षेत्रमा आकर्षण बढ्ने नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले बताएका छन् । पर्यटन क्षेत्रको विस्तारसँगै सुरक्षालाई पनि सरोकारको विषय बनाउनुपर्ने उनको भनाइ थियो ।
काठमाडौंमा शनिबार आयोजित ४६ औं पर्यटक प्रहरी दिवसको अवसरमा महानिरीक्षक कुँवरले पर्यटन विस्तारका लागि सुरक्षा चासोतर्फ पनि ध्यान दिनुपर्ने बताएका हुन् । 'पर्यटकीय सेवा विस्तारसँगै पर्यटकहरूको सुरक्षा पनि प्रमुख सरोकारको विषय हुनुपर्दछ । नेपाल सुन्दर मात्र होइन सुरक्षित पनि छ भनेर हामीले विश्वमाझ आफूलाई चिनाउन सकेमात्रै पर्यटन क्षेत्रमा थप आकर्षण पैदा हुने निश्चित छ,' उनले भने, 'पर्यटकीय सुरक्षा नै पर्यटनको प्रमुख आधारशीला रहेको हुँदा प्रभेन्टिभ, प्रोएक्टिभ र क्युरेटिभ पक्षबाट सुरक्षालाई पर्यटनसँग जोड्न जरुरी छ ।'
पर्यटकको सुरक्षा नेपाल प्रहरीको एकल प्रयासले मात्रै सम्भव नहुने महानिरीक्षक कुँवरको भनाइ थियो । उनले सरोकारवाला निकायहरूले पनि यसमा भूमिका निर्वाह गर्नुपर्ने बताए । 'पर्यटकीय सुरक्षा व्यवस्थापन कार्य प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने हुँदा यसका लागि सरोकारवाला सम्पूर्ण निकायहरूको समन्वयात्मक भूमिका अपरिहार्य रहेको छ,' उनले भने ।
प्रहरी महानिरीक्षक कुँवरले पर्यटकीय दृष्टिकोणबाट नेपाल आकर्षणको केन्द्र रहेको उल्लेख गर्नुभयो । पर्यटकीय प्रहरीको क्षमता वृद्धि गर्न जरुरी रहेको पनि उनको भनाइ थियो ।
